नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वैशाखमा जारी गरेको मासिक योजनाअनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूका लागि ललितपुरस्थित होटेल रोयल टुलिपमा प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा विभागीय प्रमुखहरू र शाखा प्रमुखहरूसहित कम्पनीका वरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरू गरी करिब ३०० जनाको सहभागिता थियो।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृतले आर्थिक वर्ष ०८३/८३ मा कम्पनीले प्रथम बिमाशुल्कसहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल भएकामा यसमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरूलाई प्रशिक्षक काजिम रजाले बिमा क्षेत्रकै अन्तर्राष्ट्रिय उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्नका लागि अपनाउनुपर्ने उपायहरूको बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरे।
कार्यक्रमको समापनतर्फ स्ट्यान्ड अप कमेडियन सुमन कार्कीको कमेडी प्रस्तुतिसहित कलाकारहरू रामचन्द्र काफ्ले र जुनु रिजालको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो। कन्सर्टमा गायक दीपक बज्राचार्य एन्ड रिदम व्यान्ड तथा डिजे अमुको प्रस्तुति रहेको थियो।