नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्जमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र संयम रहन आग्रह गरेका छन्। सभापति थापाले संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्नेमा जोड दिँदै नागरिकको ज्यानै जाने गरी गोली चलाउनुपर्ने अवस्था आएकामा प्रश्न गरेका छन्।
‘नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो। परिस्थितिलाई समयमै आंकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दुःखद छ,’ थापाले विज्ञप्तिमार्फत भनेका छन्।
उनले घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा घाइतेहरूको उपचार र मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।
‘यस कठिन घडीमा संयमता र सदभाव महत्त्वपूर्ण रहन्छ। अतः कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकूल हुन नदिन तथा सामाजिक सदभाव कायम राख्नका लागि योगदान गर्न सम्पूर्ण स्थानीयवासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सवैमा हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।