सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथिको उचाइमा अमेरिकाको व्यावसायिक ड्रोन प्रविधि परीक्षण गरिएको छ। कोकाकोला फाउन्डेसनसँगको साझेदारीमा नेपालस्थित अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सले अमेरिकामा उत्पादित फ्रिफ्लाई अल्ट्रा एक्स जेन–२ ड्रोन सगरमाथा क्षेत्रमा प्रदर्शन गरेका हुन्।
‘नेपालका ड्रोन अपरेटरहरूले गत जुन महिनामा अमा दब्लम हिमालमा ४ हजार ६ सय मिटरको उचाइमा रहेको आधार शिविर र करिब पाँच हजार ५० मिटरको उचाइमा रहेको याक क्याम्पबिच उडानहरू गरेका छन्,’ अमेरिकी दूतावासले भनेको छ, ‘यो कार्यका लागि अक्सिजन सिलिन्डर तथा उपकरणहरू बोकेर नै ठाडो हिमाली क्षेत्रमा १.६ किलोमिटरको दूरी तय गरिएको थियो।’
ड्रोनले पर्वतीय अभियानहरूमा शेर्पाहरूमाथिको भौतिक बोझ कम गर्न, पर्वतारोहीहरूको सुरक्षा बढाउन र आवश्यक उपकरणहरूलाई अझ बढी रफ्तार र दक्षताका साथ ढुवानी गर्न सकिने दूतावासले उल्लेख गरेको छ।
नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बमले अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वर्ष मनाउँदै गर्दा यो सहकार्य भएको टिप्पणी गरे। पर्वतारोहणको बन्दोबस्त र हिमाली सरसफाइदेखि खोज तथा उद्धार, विपत् प्रतिकार्य र दुर्गम क्षेत्रहरूमा आकस्मिक ढुवानीलगायतमा ड्रोन प्रविधिको प्रयोगका सम्भावनाहरू रहेको दूतावासको तर्क छ।