क्याफेमा बन्धक बनाएर १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजना युवा पक्राउ

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

मोरङको रंगेलीमा एक १२ वर्षीया बालिकालाई ललाइफकाई दुई दिनसम्म  बन्धक बनाएर सामूहिक बलात्कार आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । गरिब परिवारकी ती १२ वर्षीया बालिकालाई घुमफिर गराउने बहानामा ललाइफकाई रंगेलीनगरपालिकास्थित नाइन्टिनाइन र युमी क्याफेमा ल्याएर बन्धक बनाई  दुई दिनसम्म सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँचजना युवालाई आइतबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा मोरङ रंगेली– ३ का १८ वर्षीय मोहम्मद अरमान, सुनबर्सी– ९ का  २१ वर्षीय सुमनकुमार साह, रंगेली– ७ का २० वर्षीय करण मण्डल,  १८ वर्षीय प्रियांशु साह र रंगेली– ६ का १८ वर्षीय रितिक यादव  छन् । पक्राउ पर्ने सुमनकुमार साह रंगेलीको संसारीमाईस्थाननजिकै रहेको क्याफेका  सञ्चालक हुन्। 

मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका  अनुसार ३ साउनमा  रंगेली– ३ का १८ वर्षीय मोहम्मद अरमानले एक १२ वर्षीया बालिकालाई घुमफिर गराउने बहानामा रंगेली– ७ मा रहेको युमी क्याफेमा लिएर गएका थिए । सोही दिन अरमान र  क्याफेका सञ्चालक सुमनकुमार साहले बालिकालाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेका थिए । 

त्यसको भोलिपल्ट ४ साउन  राति ९ बजेतिर पुनः रंगेली– ७ का २० वर्षीय करण मण्डलले   ती बालिकालाई रंगेली– ७ स्थित संसारी मन्दिरछेउमा रहेको अर्को नाइन्टिनाइन क्याफेमा  पुर्याइएका थिए । सोही क्याफेमा  करण मण्डल, प्रियांशु साह र रितिक यादवले मिलेर बालिकालाई सामूहिक बलात्कार गरेका थिए ।   

बालिकामाथि लगातार बलात्कार भएको उजुरी परेपछि जिल्ला प्रहरी मोरङ र  इलाका प्रहरी रंगेलीको  संयुक्त टोलीले १० साउन आइतबार घटनामा संलग्न पाँचैजनालाई नियन्त्रणमा लिएको हो । डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको छ ।  

सुझावित समाचार