आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एकजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– ७ का ३५ वर्षीय ज्योति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटना शनिबार बेलुकीको हो । प्रहरीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । घाइते चौधरीलाई थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौं लैजाने क्रममा धादिङमा हिजो बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।
घटनालगत्तै उनलाई आफन्तले सेती प्रादेशिक अस्पताल पुर्याएका थिए । सेतीमा उपचार सम्भव नभएपछि शनिबार बेलुकी नै थप उपचारका लागि काठमाडौं लगिएको थियो । प्रहरी निरीक्षक विष्टका अनुसार शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। आत्मदाह प्रयासको कारण खुल्न बाँकी रहेको विष्टले बताए।