काभा पुरुष भबिल च्याम्पियनसिप : नेपाल तेस्रोपटक पाँचौँ सेटमा पराजित

पाकिस्तानको इस्लामाबादमा चलिरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा कजाकस्तान, श्रीलंका र बंगलादेशसँग समान ३–२ को सेटमा निराश

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

पाकिस्तानको इस्लामाबादमा चलिरहेको काभा पुरुष भबिल च्याम्पियनसिपमा नेपाल तेस्रोपटक पाँचौँ सेटमा पराजित भएको छ । आइतबार आफ्नो चौथो खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा निराश भएको हो । यसअघि कजाकस्तान र श्रीलंकाले नेपाललाई समान ३–२ को सेटमा पाखा लगाएका थिए । तीनवटै खेलमा अन्तिम तथा पाँचौँ सेटमा पुगेर नेपालले हार सामना गरेको हो । 

इस्लामाबादमा हरिहजुर थापाको कप्तानीमा रहेको नेपालले बंगलादेशविरुद्ध दुई सेटमा अग्रता लिए पनि त्यसपछि खराब प्रदर्शन गर्यो । प्रतिस्पर्धा नेपालले २५–१८, १९–२५, २५–२१, २३–२५ र ११–१५ ले हारेको हो । अब, नेपालले अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ । लगातार चार खेलमा पराजित हुँदा मात्र ३ अंक जोडेको नेपालको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । ६ टोली सहभागी प्रतियोगिताको शीर्ष चारमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो ।

नेपालले अघिल्लो दुई खेलमा २ अंक जोडेको थियो । तेस्रो खेलमा पाकिस्तानसँग पराजित हुँदा नेपालले अंक बटुल्न सकेन । चारमध्ये तीन खेल जितेर बंगलादेशले सेमिफाइनलको आशा बलियो बनाएको छ । बंगलादेश एक खेलमा मात्र पराजित भएको छ । बंगलादेशले उज्वेकिस्तान र कजाकस्तानलाई पाँच सेटमा पराजित गरेको थियो । बलियो टोलीसँग उत्कृष्ट प्रदर्शन गरेको बंगलादेश पाकिस्तासँग सोझो सेटमै पराजित भयो । प्रतियोगितामा नेपाल मात्र जित निकाल्न नसकेको टोली हो । सोमबार नेपालले उज्वेकिस्तानविरुद्ध खेल्नेछ । सो खेल जिते नेपालको अन्तिम चारको आशा जीवितै रहनेछ । 

बंगलादेशविरुद्ध रोमाञ्चक खेल
प्रशिक्षक जगदीश भट्ट बंगलादेशविरुद्ध जित निकाल्ने योजना बनाए । तर, उनको जित निकाल्ने योजना पुनः एकपटक अन्तिम सेटमा तुहियो । नेपाली खेलाडीले पहिलो सेटमा बंगलादेशी खेलाडीलाई हाबी हुन दिएनन् । नेपालले पहिलो सेट २५–१८ ले जित्यो । फर्ममा रहेको बंगलादेशले भने दोस्रोे सेटमा नेपालको कमजोरीको फाइदा लियो । डिफेन्समा कमजोर नेपालविरुद्ध बंगलादेशले दोस्रो सेट २५–१९ ले हात पा¥यो । त्यसपछि नेपालले दोस्रो सेटमा गरेको गल्ती सच्याएर बंगलादेशलाई २५–२१ ले जित्दै २–१ को अग्रता बनायो ।

चौथो सेट प्रतिस्पर्धात्मक बन्यो । बंगलादेशले यो सेट गुमाउँदा पराजित हुने थियो । नेपाल र बंगलादेशबिच चौथो सेट अन्तिमसम्म कडा प्रतिस्पर्धाका रूपमा चल्यो । नेपाली खेलाडीले सामान्य गल्ती गर्दा बंगलादेश २३–२५ ले विजयी भयो । पाँचौँ तथा अन्तिम सेटमा पुनः एकपटक नेपाली खेलाडीले अघिल्लो खेलमा जस्तै गल्ती गरे । निर्णायक सेटमा नेपाली खेलाडी थकित देखिए । बंगलादेशले नेपालमाथि दबाब बनाउँदै सेट १५–११ ले जित्यो ।

सुझावित समाचार