सीमा सहजीकरणका लागि सशस्त्र प्रहरीको ‘बोर्डर इन्टरएक्सन टिम’ परिचालन

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

सीमा सहजीकरण तथा सीमा इलाकामा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण गर्न र सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर इन्टरएक्सन टिम (बिआइटी) परिचालन गरिएको छ।

साउन १० गतेदेखि मुख्य सीमानाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र  कैलालीको त्रिनगरमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा एक ठाउँमा १४ जना रहने गरी टोली परिचालन गरिएको छ। सो टोली उक्त क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा तैनाथ रही सीमाको मुख्य नाकाहरूमा परिचालन हुनेछन्। 

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रुपन्देहीको डण्डामा रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्ममा पुगी सो टोलीलाई आवश्यक निर्देशन दिँदै टोली परिचालनको शुभारम्भ गर्नुका साथै सीमा क्षेत्रमा हुने दैनिक क्रियाकलापबारे समेत जानकारी लिएका छन्।

टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका र वृद्धवृद्धाहरूको सहजीकरण, मानव बेचविखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तुलगायतका सामग्रीहरूको निगरानी, नियन्त्रण तथा चेकजाँचमा कडाइका साथ काम गर्नेछ।

आजै अन्य नाकामा समेत सम्बन्धित बाहिनीका बाहिनीपतिहरूले टोली परिचालनको शुभारम्भ गरेका छ्न्। टोली प्रत्येक सिफ्टमा एक महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाक (सफारी सुट)मा रहने डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सुझावित समाचार