आइफोनका लागि साथीहरूबाटै हत्या, १७ वर्षीय किशोरको शव नाै दिनपछि फेला

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

बागलुङको बडिगाडमा आफ्नै साथीहरूबाट १७ वर्षीय किशोरको हत्या भएको छ। बडिगाड गाउँपालिका– १ का बोमबहादुर थापाका छोरा लजिन थापाको आफ्नै साथीहरूले मुक्का र ढुंगा प्रहार गरी हत्या गरेको रहस्य खुलेको हो। प्रहरीले घटनाको नाै दिनपछि मात्र मृतकको शव फेला पारेको छ।

साउन १ गते छिमेकी साथी असिम वनको जन्मदिन मनाउने भन्दै बोलाएका साथीहरूले आइफोनको चक्करमा रातको समयमा रक्सी सेवन गरेको र राति अबेर भएपछि घर पुर्याइदिने भन्दै एकान्त स्थानमा पुर्याई आइफोन खोसेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। मुक्का प्रहारबाट बेहोस भएका थापालाई ढुंगामुढाले हानेर हत्या गरेको र साथमा रहेको आइफोन लुटेको पक्राउ परेकाहरूले बयान दिएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए। 

प्रहरीका अनुसार हत्या आरोपमा लजिनका साथीहरू ददी परियार र रेमबहादुर विकसहित चारजना पक्राउ परेका छन्। ‘पहिला आइफोनकै लागि एकान्तमा पुगेर मुक्का प्रहार भयो, ढुंगामुढा हानेर हत्या भयो, त्यसपछि फोन लुटियो,’ प्रहरी उपरीक्षक प्रसाईंले भने, ‘शव लुकाउन राति २५ मिनेट हिँडेर खोल्सामा फालेका रहेछन्।’ शव फालेपछि प्रहरीले थाहा पाउँछ भनेर मृतककै साथमा मोबाइल राखिदिएको अनुसन्धानमा खुलेको छ।

काठमाडौंस्थित ठुलोबुबाको घरमा बसेर साइपाल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन केही दिनअघि मात्र नागरिकता बनाउन घर आएका थिए। उनको साथमा ठुलोबुबाले किनिदिएको आइफोन थियो। उक्त आइफोनमा साथीहरूले पटकपटक फोटो खिच्न खोज्ने गरेका थिए। पक्राउ परेका ददी परियारले आफ्नो फोन नराम्रो भएकाले राम्रो फोटो खिच्नका लागि माग्ने गरेको पनि खुलेको छ। फोनमा साथीहरूको फोटोसमेत भेटिएको प्रसाईंले बताए।

शव भेटिनुअघि साउन ७ गते नै घटनामा संलग्नताको आशंकामा २० वर्षीय रेमबहादुर विक, १९ वर्षीय सुदीप विक, १६ वर्षीय असिम वन र १७ वर्षीय ददी परियारलाई नियन्त्रणमा लिएर व्यक्ति बेपत्ता पार्ने कसुरमा मुद्दा दर्ता गरी पाँच दिनको म्यादसमेत थप भएको थियो। शव फेला परेपछि उनीहरूविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ताको तयारी गरेको छ।

नाै दिनसम्म मृतकको शव गलिसकेको अवस्थामा भेटिएको हो। पोस्टमार्टमका लागि शव धौलागिरि अस्पताल ल्याइएको छ। चोटका प्रकृति र अन्य विवरण पोस्टमार्टमपछि खुल्ने जिल्ला प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

साउन २ गते बिहानदेखि नै थापा बेपत्ता भएको उजुरीपछि इलाका प्रहरी कार्यालय गलकोट, प्रहरी चौकी खरबाङ र जिल्ला प्रहरी प्रमुख प्रसाईंसहितको टोलीले गाउँमा खोजी गरेको थियो। अनुसन्धान कठिन भएपछि प्रदेश प्रहरी कार्यालय पोखराबाट पोलिग्राफ प्राविधिक र तालिमप्राप्त कुकुरसमेत ल्याउनुपरेको थियो।

‘हामीले प्राविधिक र कुकुरको सहायताले पनि खोजी गरेपछि मात्र मनेखोलाको खोल्सामा शव भेट्टायौँ,’ प्रसाईंले भने, ‘चप्पल, ज्याकेटलगायतका सामान फरकफरक स्थानमा लुकाइएको पाएपछि शव भेटाउन कठिन भएको थियो।’

सुझावित समाचार