एमाले–नेकपाबिच सातै प्रदेशमा सत्तासाझेदारी, तीन प्रदेशको नेतृत्व एमाले र दुईको नेकपाले गर्ने

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच सातै प्रदेशमा सत्तासाझेदारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

प्रदेश सभामा देखिएको बजेट निर्माणसम्बन्धी विवाद, बजेटविहीन अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यसहित सहमति गरिएको दुवै दलले जनाएका छन्।

सहमतिअनुसार सातै प्रदेशमा एमाले र नेकपाले सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। प्रदेश सरकारको नेतृत्व बाँडफाँटअन्तर्गत कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने भएको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ।

मधेश र गण्डकी प्रदेशमा भने सरकार गठनको स्वरूपबारे प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग छलफल गरेर नेतृत्व र सहभागिता टुंगो लगाइने सहमतिपत्रमा उल्लेख छ।

दुवै दलले प्रदेश सरकारलाई प्रभावकारी बनाउँदै विकास निर्माण, सुशासन र राजनीतिक स्थायित्व कायम गर्ने लक्ष्यसहित सहकार्य अघि बढाउने बताएका छन्।

सुझावित समाचार