दाङमा ८ वर्षीया बालिकाद्वारा बलात्कार गरेको बयान, स्वास्थ्य परीक्षणमा देखिएन

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

दाङ जिल्ला अदालतले ८ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गरेको कसुरमा एक भारतीय नागरिकलाई कैद र क्षतिपूर्तिको फैसला सुनाएको छ। यद्यपि ती भारतीय नागरिकले बलात्कार गरेको भनी ती बालिकाले बयान दिएकी थिइन्। तर, स्वास्थ्य परीक्षणमा नदेखिएपछि ती भारतीय नागरिकलाई बलात्कारको मुद्दा नभई बाल यौन दुरुपयोगको मुद्दा लागेको छ।  

भारतको उत्तर प्रदेश, बलरामपुर जिल्ला घर भई घोराहीस्थित शक्ति ग्रिल उद्योगमा कार्यरत दिननाथले २०८१ जेठ २१ गते राति बिजुली गएको समयमा छिमेकी बालिकालाई मोबाइल देखाउने प्रलोभन देखाई आफ्नो कोठामा लगेर अभद्र यौन क्रियाकलाप गरेको ठहर भएको छ।

 सुरुमा जबर्जस्ती करणीको अभियोगमा मुद्दा दायर भए तापनि स्वास्थ्य परीक्षणमा करणी भएको ठोस शारीरिक चोटपटक नदेखिएकाले जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले यसलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ बमोजिम बाल यौन दुरुपयोगको कसुर ठहर गरेको हो। 

अदालतले प्रतिवादी दिननाथलाई एक वर्ष ६ महिना कैद सजाय सुनाउनुका साथै पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने र चार सय  रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। २०८१ असार १० गतेदेखि नै पूर्पक्षका लागि थुनामा रहेका प्रतिवादीले तोकिएको कैद भुक्तान गरिसकेकाले उनी २०८२ माघ १५ गते थुनामुक्त भइसकेका छन्। उनको अन्तिम फैसला भने यही साउन ४ गते भएको हो। 
 

सुझावित समाचार