भूमिगत सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत ८ लाख २१ हजार घुससहित पक्राउ

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख र मेकानिकल अधिकृतलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ। शुक्रबार साँझ आयोगको क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले ८ लाख २१ हजार घुस लिएको आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी पक्राउ गरेको हो।

बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वाटरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिइएको सात लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियार कार्यालय बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए। टोलीले गरेको खानतलासीका क्रममा स्रोत नखुलेको थप ७१ हजार एक सय १५ रुपैयाँ पनि बरामद भएको जनाएको छ।

पल्स कार्यालयअन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग सम्झौता गरी बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृतमार्फत घुस मागेकाे आरोप छ। मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट सात लाख ५० हजार रुपैयाँ बुझेर डिभिजन प्रमुखको सरकारी क्वाटरमा पुर्याएको उल्लेख छ।

घटनापछि डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको हो।
 

See More On

सुझावित समाचार