म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न अस्वीकार गरेका छन् । इटालीले ग्वार्डिओलालाई राष्ट्रिय टोली सम्हाल्ने प्रस्ताव राखेको थियो । तर, ग्वार्डिओलाले आफू राष्ट्रिय टोलीको प्रशिक्षक बन्न नसक्ने जनाएका छन् ।
इटालियन फुटबल महासंघका अध्यक्ष जोभानी मालागोले ग्वार्डिओलासँग छलफल गरेका थिए । महासंघका प्राविधिक निर्देशक पाओलो माल्दिनीका अनुसार इटालीले सुरुमा आफ्ना पूर्वखेलाडी कार्लो एन्सेलोटीलाई प्रस्ताव गरेको थियो । उनी अहिले ब्राजिलका प्रशिक्षक छन् ।
ग्वार्डिओलाले फुटबलबाट केही समय विश्राम लिने र परिवारसँग समय बिताउने जनाएका छन् । उनले इटालियन फुटबल महासंघलाई आफ्नो निश्चित योजनाका कारण प्रशिक्षक बन्न नसकिने जानकारी दिएका छन् ।
चारपटकको विश्व च्याम्पियन इटाली १२ वर्षयता विश्वकपमा छनोट भएको छैन । इटालीलाई फेरि पुरानै लयमा फर्काउन महासंघले ग्वार्डिओलालाई मोटो तलबका साथै आफ्नो अनुकूल टोली निर्माण गर्ने पूर्ण स्वतन्त्रता दिने प्रस्ताव गरेको थियो ।
ग्वार्डिओलाले अस्वीकार गरेपछि अब इटालीका पूर्वखेलाडी आन्द्रे पिर्लो प्रशिक्षक बन्ने दौडमा अगाडि छन् । दुबईको युनाइटेड एफसीका मुख्य प्रशिक्षक रहेका पिर्लोलाई आगामी नेसन्स लिग र सन् २०२८ को युरो कपमा इटालीलाई छनोट गराउने जिम्मेवारी दिने सम्भावना बढेको बिबिसीले जनाएको छ ।