कांग्रेस सभापति गगन थापाले चुनावमा हारिएला भन्ने डरले आस्थासँग सम्झौता नगर्ने बताएका छन् । राजधानीमा बिहीबार आयोजित विचार गोष्ठीमा थापाले एउटा चुनावबाट आत्तिने र मात्तिने पार्टी कांग्रेस नभएको बताए ।
विगतमा पार्टी इलेक्सन मेसिनजस्तो भएको स्मरण गर्दै थापाले अब नयाँ ढंगबाट अगाडि बढ्ने बताए । ‘कहिलेकाहीँ नेताले तर्साउन खोज्नुहुन्छ । हेरौँला चुनावमा भन्नुहुन्छ । हामी बिपी कोइरालाका कार्यकर्ता हौँ । हामी एउटा चुनावबाट मात्तिहाल्ने, एउटा चुनावबाट आत्तिइहाल्ने होइनौँ । हामी चुनाव हारिएला, तर आस्थासँग सम्झौता गर्दैनौँ,’ थापाले भने ।
कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले युवाको भावनासँग बिपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने संकल्प गर्नुपर्नेमा जोड दिए । इतरपक्षले आलोचना गरेको विषयतर्फ इंगित गर्दै शर्माले कसैको आलोचना गरेर गन्तव्यमा पुग्न नसकिने बताए । ‘कसैले कतै भेला भएर एकदमै धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुंगा हानिराखेर हामी गन्तव्यमा पुग्न सक्दैनौँ । मनाउनु छ बिपी कोइरालाको पुण्यतिथि, बिपीकै कुरा गरौँ । बिपीको विचार र संस्कारको,’ शर्माले भने । शर्माले विशेष महाधिवेशनबाट गगन थापालाई कांग्रेसको सभापति र देशको प्रधानमन्त्री बनाएर देशलाई बदल्ने संकल्प गरेर हिँडेको पनि बताए ।
महामन्त्री प्रदीप पौडेलले कांग्रेसलाई मुलुककै सबैभन्दा बढी सदस्य भएको र पूर्ण रूपमा डिजिटल नेटवर्कमा जोडिएको पार्टी बनाउने अभियान सुरु भएको बताए । सदस्यता वितरण र व्यवस्थापनमा क्रान्तिकारी परिवर्तन गरिएको उनले बताए । विगतमा कांग्रेसभित्र सदस्यता वितरणलाई लिएर हुने विवाद अब अन्त्य भएको उनले दाबी गरे ।
अब नयाँ सदस्यता पूर्ण रूपमा डिजिटल माध्यमबाट लिने व्यवस्था गरिएको पनि उनले बताए । ‘अब कांग्रेसका हरेक सदस्यसँग आफ्नै डिजिटल आइडी हुनेछ । नेपाली कांग्रेसका सबै सदस्य एउटै डिजिटल नेटवर्कमा जोडिनेछन्,’ उनले भने, ‘१८ वर्ष पुगेका र राजनीतिक दलको सदस्य बन्न योग्य सबै नेपालीका लागि कांग्रेसको ढोका खुला रहेको छ ।’