काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकामा बाटोमा हिँडिरहेकी एक महिलाको करेन्ट लागेर ज्यान गएको छ। भुम्लु गाउँपालिका– ७, फलाटेनिवासी ४० वर्षीया देवी उप्रेतीको ०८३ साउन ७ गते बुधबार करेन्ट लागेर ज्यान गएको हो । उनी दैनिक रूपमा भुम्लु गाउँपालिका– ८, भुमेथानमा भैँसीपालन गरी उत्पादित दुध बिक्रीका लागि आउने–जाने गर्दै आएकी थिइन् ।
नेपाल विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण बुधबार बाटोमा अचानक विद्युत् करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । सोही दुर्घटनामा परी उनको शुक्रबार अल्पायुमै ज्यान गएको हो।
घटनास्थलमा विद्युत् पोलमा अपनाइने आधारभूत सुरक्षाका मापदण्डहरू पूर्णतया शून्य रहेको पाइएको छ। पोल तथा तारहरूको बेवास्ता र खुला लापरबाहीकै कारण यो दुर्घटना घटेको मृतकका आफन्तहरूले बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको गैरजिम्मेवारपन र लापरबाहीले गर्दा नै निज व्यक्तिको ज्यान गएको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका छन्।
देवी उप्रेतीले नै घरपरिवारको सम्पूर्ण जिम्मेवारी एक्लै धान्दै आएकी थिइन् । उनको अचानकको निधनले सिंगो परिवार र आफन्त गहिरो शोकमा छन् ।