गत आर्थिक वर्ष ०८२/८३ मा वाणिज्य बैंकहरूको निक्षेप नौ खर्ब ६७ अर्ब ४२ करोड रुपैयाँले बढेको छ । तर, सोही अवधिमा कर्जा प्रवाह भने तीन खर्ब १५ अर्ब १३ करोड रुपैयाँले मात्रै विस्तार भएको छ । नेपालमा सञ्चालित २० वाणिज्य बैंकहरूमा निक्षेप संकलन र कर्जा विस्तारमा असन्तुलन देखिएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको हो ।
समीक्षा वर्षमा वाणिज्यहरूको निक्षेप नौ खर्ब ६७ अर्ब ४२ करोड रुपैयाँले बढेको छ । असार ०८२ सम्म वाणिज्य बैंकमा ६५ खर्ब ३० अर्ब ७९ लाख रुपैयाँ निक्षेप थियो । असार ०८३ सम्म आउँदा त्यो १४.८१ प्रतिशतले बढेर ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । विशेषगरी उच्च रेमिट्यान्स आप्रवाहले निक्षेप बढाउन सहयोग पुगेको छ ।
तथ्यांकअनुसार साउनमा ५२ अर्ब २२ करोड रुपैयाँले निक्षेप घट्दा भदौमा ९३ अर्ब ९४ करोड रुपैयाँ, असोजमा एक खर्ब ७९ अर्ब रुपैयाँ, कात्तिकमा तीन अर्ब २३ करोड रुपैयाँ र मंसिरमा ५९ अर्ब ७० करोड रुपैयाँले निक्षेप बढेको थियो ।
यसैगरी, पुसमा एक खर्ब २९ अर्ब ६८ करोड रुपैयाँ, माघमा १० अर्ब ३१ करोड रुपैयाँ, फागुनमा ५० अर्ब सात करोड रुपैयाँ र चैतमा एक खर्ब २३ अर्ब ४१ करोड रुपैयाँले निक्षेप बढेको थियो । वैशाखमा भने ६० अर्ब ५१ करोड रुपैयाँले निक्षेप बढेको देखिन्छ । त्यसपछि जेठमा ६५ अर्ब ४५ करोड रुपैयाँ र असारमा दुई खर्ब ४४ अर्ब २९ करोड रुपैयाँले निक्षेप बढेको छ । अघिल्लो आव ०८१/८२ मा भने निक्षेप सात खर्ब ७६ अर्ब दुई करोड रुपैयाँले बढेको थियो । असार ०८१ सम्ममा निक्षेप ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप थियो ।
तीन खर्ब १५ अर्बले बढ्यो कर्जा विस्तार
गत आवमा वाणिज्य बैंकहरूको कर्जा विस्तार भने तीन खर्ब १५ अर्ब १३ करोड रुपैयाँले बढेको छ । असार ०८२ सम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४९ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ थियो । गत आवमा त्यो ६.३३ प्रतिशतले बढेर ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
तथ्यांकअनुसार साउनमा १० अर्ब ८६ करोड रुपैयाँले कर्जा घटेको थियो । त्यसपछि भदौमा ४३ अर्ब २५ करोड रुपैयाँ र असोजमा ४० अर्ब ६८ करोड रुपैयाँले कर्जा प्रवाह बढेको थियो । यस्तै, कात्तिकमा २२ अर्ब ४१ करोड रुपैयाँले कर्जा प्रवाह घट्दा मंसिरमा २६ अर्ब ५५ करोड रुपैयाँले बढेको थियो । त्यसपछि पुसमा एकैपटक एक खर्ब चार अर्ब ८१ करोड रुपैयाँले कर्जा प्रवाह बढेको देखिन्छ ।
यसैगरी माघमा ६५ करोड रुपैयाँले मात्रै कर्जा प्रवाह बढेको थियो । त्यसपछि फागुनमा १५ अर्ब ७३ करोड रुपैयाँले कर्जा प्रवाह बढेको देखिन्छ । चैतमा एकैपटक ७७ अर्ब ९९ करोड रुपैयाँले कर्जा प्रवाह बढ्दा वैशाखमा १९ अर्ब ४१ करोड रुपैयाँले कर्जा प्रवाह घटेको थियो । त्यसपछि जेठमा ३१ अर्ब ८१ करोड रुपैयाँ र असारमा २६ अर्ब ३४ करोड रुपैयाँले कर्जा प्रवाह बढेको देखिन्छ ।
गत आवमा राष्ट्र बैंकले १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य लिएको थियो । तर, ६.३३ प्रतिशतले मात्रै कर्जा विस्तार भएको छ । कर्जा विस्तार रकम पनि अघिल्लो आवको तुलनामा पनि कम हो । आव ०८१/८२ मा नयाँ कर्जा विस्तार चार खर्ब तीन अर्ब ६४ करोड रुपैयाँ थियो । असार ०८१ सम्म कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ थियो ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले निक्षेको तुलनामा कर्जा प्रवाह कमजोर भएको बताए । ‘मुख्यतः उच्च रेमिट्यान्सले नै निक्षेप बढाएको छ । तर, कर्जाको माग भने बढ्न सकेको छैन,’ उनले भने, ‘जेन–जी आन्दोलन, त्यसपछिको राजनीतिक परिवर्तन, चुनावलगायतका कारणले गत वर्ष आर्थिक गतिविधि नै भएन । पुँजीगत खर्च पनि कमजोर भयो । त्यसले गर्दा कर्जाको माग बढ्न सकेन ।’ यसैगरी इरान युद्ध, भारतले विभिन्न नेपाली वस्तुको आयातमा गरेको कडाइलगायतका कारण कर्जा मागलाई प्रभावित बनाएको उनी बताउँछन् । इरान युद्धले निर्माण सामग्रीको मूल्य बढाउनुका साथै अभाव भयो । त्यसले निर्माण क्षेत्र ठप्प भएर कर्जाको माग प्रभावित भएको थियो ।
नयाँ सरकार गठनपछि पनि कर्जाको माग बढ्न नसकेको उनी बताउँछन् । ‘नयाँ सरकार गठनपछि पनि कर्जाको माग बढ्न सकेन । त्यसपछि बजेट र मौद्रिक नीतिसम्म पर्खौँ भन्ने कुरा आयो । तर, बजेट र मौद्रिक नीति पनि व्यवसायी तथा लगानीकर्तामा उत्साह आएको देखिएन,’ उनले भने, ‘बजेट र मौद्रिक नीतिपछि पनि कर्जाको माग बढ्न नसकेको अवस्था छ ।’ पछिल्लो समय जलविद्युत् र होटेल क्षेत्रबाट कर्जाको माग बढे पनि त्यो पर्याप्त नभएको उनी बताउँछन् ।
ऋण दिन मिल्ने रकम १४ खर्बमाथि
समीक्षा वर्षमा वाणिज्य बैंकहरूको निक्षेप नौ खर्ब ६७ अर्ब ४२ करोड रुपैयाँले बढ्दा कर्जा प्रवाह भने तीन खर्ब १५ अर्ब १३ करोड रुपैयाँले विस्तार भएको छ । त्यसमा पनि कर्जा प्रवाहको प्रवृत्ति अस्थिर छ । त्रैमासको अन्तिम महिनामा अस्वाभाविक रूपमा उच्च कर्जा प्रवाह हुने गर्छ । तर, अन्य महिना भने कर्जा प्रवाह न्यून छ । निक्षेप भने निरन्तर बढ्दो छ ।
हाल बैंकहरूमा १४ खर्ब १७ अर्ब ९१ रुपैयाँ ऋण दिन मिल्ने पैसा छ । असार मसान्तसम्म बैंकहरूको सिडी रेसियो ७१.०९ प्रतिशत छ । बैंकहरूले सिडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् । त्योअनुसार अझै निक्षेपको १९.९१ प्रतिशत रकम कर्जाका रूपमा प्रवाह गर्न मिल्छ, जुन रकम १४ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ हुनेछ । तर, कर्जाको माग नहुँदा यो पैसा बैंकहरूमै थुप्रिएको छ ।