प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्गानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्गानिक एसोसिएसन नेपाल’का पदाधिकारीसँग बिहीबार भएको छलफलपछि उनले यस्तो निर्देशन दिएका हुन् ।
छलफलमा अर्गानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेका थिए । प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गर्दै मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
यस्तै, अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गरेका थिए ।
नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक भएको सचिवालयले जनाएको छ ।