एमाले अध्यक्ष केपी ओलीले लोकतन्त्र र संविधानको रक्षार्थ सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्ने आवश्यकता रहेको भन्दै कांग्रेस र नेकपालगायत दललाई कार्यगत एकताको प्रस्ताव गरेका छन् । पुष्पलाल स्मृति दिवसका सन्दर्भमा पार्टीको राजधानी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले त्यस्तो प्रस्ताव गरेका हुन् । पहिले एमाले, नेकपा, कांग्रेससहित सबै पार्टीहरू आन्तरिक रूपमा एकताबद्ध हुनुपर्ने र त्यही बलमा संविधानको रक्षार्थ आपसी कार्यगत एकता गर्दै जानुपर्ने देशको परिस्थिति रहेको ओलीले औँल्याए ।
‘आज सबै लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी दलहरू आन्तरिक रूपमा सुदृढ र एकताबद्ध हुन जरुरी छ । एमाले एकताबद्ध छ, एकताबद्ध रहन्छ । म अरूलाई पनि सुझाव दिन चाहन्छु । वामपन्थी, प्रगतिशील लोकतान्त्रिक शक्तिहरू सबै एकताबद्ध भएर अघि बढ्नुस्,’ उनले भने । ओलीले लोकतन्त्र फिर्ता ल्याउन र संविधानको रक्षार्थ आपसमा जुट्दै कार्यगत एकतातर्फ अघि बढ्नुपर्नेमा जोड दिए । ‘हामी सबै प्रगतिशील, लोकतान्त्रिक शक्तिहरू, वामपन्थी, लोकतान्त्रिक देशभक्त शक्तिहरू, सबै शक्तिहरू मिलेर देशका लागि, जनताको हितमा, लोकतन्त्र फिर्ता ल्याउन, संविधानको रक्षा गर्न, सुशासन फेरि फिर्ता ल्याउन, कानुनी राज पुनर्स्थापना गर्न दृढताका साथ अगाडि बढौँ । एकजुट भएर अगाडि बढौँ,’ उनले भने ।
ओलीले आफूले अहिल्यै पार्टी एकताको कुरा नगरेको प्रस्टीकरण दिँदै पार्टी आ–आफ्ना भए पनि काम र मुद्दामा तत्काल सहकार्य आवश्यक देखिएको स्पष्ट पारे । उनले भने, ‘सबै पार्टी एकै ठाउँमा मिलेर एउटै पार्टी बनाएर जाऔँ भनेको होइन । पार्टी आ–आफ्ना भए पनि हुन्छ । काममा मिलौँ न । सहकार्य गरौँ न । समान उद्देश्यका लागि समान काममा त जुटौँ ।’
ओलीले कांग्रेसले आपसमा झगडा र विवाद गर्ने वेला नभएको भन्दै लोकतन्त्रका लागि लड्ने सामर्थ्यका लागि एकीकृत हुन शुभकामना पनि दिए । ‘अहिले नेपाली कांग्रेसभित्र वेला न कुवेला बजिनाला भएको छ । के बजिनाला हो चरमचर्याम म बुझ्दिनँ । तर, कांग्रेसले कांग्रेसकै रूपमा अस्तित्व कायम गरोस् । एकताबद्ध होस् र लोकतन्त्रका लागि लड्ने सामर्थ्य पुनः प्राप्त गरोस्,’ ओलीले भने । प्रदेश सरकारहरूमा देखिएको अन्योल र अलमललाई पनि केही दिनभित्रै हटाउने तयारी भइरहेको उनले बताए ।