सिराहाको लहान नगरपालिका– ३ अस्पताल चोक क्षेत्रमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीयसहित ६ जना छन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि पाँच राउन्ड गोली चलाइएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ । ब्युरोले जारी गरेको विज्ञप्तिमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदासमेत अटेर गरेपछि सप्तरीको रुपनी गाउँपालिका– १ का ४० वर्षीय मो नसिरको बायाँ खुट्टा र भारत बिहार ठेगाना भएका २२ वर्षीय विद्यानन्द यादवको दायाँ खुट्टामा गोली लागी घाइते भएको उल्लेख छ ।
प्रहरीले एक भारतीयसहित ६ जनालाई नियन्त्रणमा लिनुका साथै २४३ ग्राम खैरो हिरोइन, स.३प ८१८५, स.११प ८०५ नम्बरको गरी दुई थान मोटरसाइकल र सात थान मोबाइलसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक यादव र नेपाली युवा नसिरसहित सप्तरीको बोदेबर्साइन नगरपालिका– २ का २८ वर्षीय शम्भुप्रसाद यादव, २४ वर्षीय वैद्यनाथप्रसाद यादव, डाक्नेश्वरी नगरपालिका– २ का २८ वर्षीय मो जमाहिर आलम र ३२ वर्षीय मो इजामुद्दिन छन् ।
घाइते दुईजनाको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बाँकी चारजनालाई थप अनुसन्धानसहित कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहानलाई बुझाइएको ब्युरोले जनाएको छ ।
त्यसअघि गत ७ असारमा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सिराहा नगरपालिका– २१ स्थित लगडीगोठबाट इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा रहेको प्रहरीले गोली प्रहार गरी कुख्यात भारतीय लागुऔषध कारोबारी र एक नाबालकसहित दुईजनालाई पक्राउ गरेको थियो ।
त्यस्तै, गत १९ असारमा नवराजपुर गाउँपालिका– ५, झाँझपट्टीबाट गोली प्रहार गरी भारतको बिहार राज्य, मधुवनी जिल्ला घर भएका लागुऔषध कारोबारी करिब ३५ वर्षीय अब्दुल कलामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।