सप्तरीमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– ५ क्षेत्रमा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले तीन हजार ३३२.४६० किलोग्राम गाँजा बरामद गरेको हो।
हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनबाट उक्त गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामदसँगै गाँजा ओसारपसारमा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएका छन् भने चालकहरू भने फरार रहेका छन्।
प्रहरीका अनुसार बा.प्र०१–०२५ च ०४३६ नम्बरको स्कार्पियोबाट १९ बोरामा राखिएको ५२३.६४० किलोग्राम गाँजा बरामद भएको छ। त्यस्तै, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको एक हजार ६६८.११० किलोग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको एक हजार १७०.७१० किलोग्राम गाँजा फेला परेको हो।
घटनामा संलग्न फरार चालकहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद गाँजा, सवारीसाधन र घटनासम्बन्धी विषयमा थप अनुसन्धान जारी रहेको छ।