नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीले पार्टीको विधि, विधान र प्रक्रियाभन्दा बाहिर गएर १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमिति मर्ज गर्ने प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
संस्थापनइतर समूहले उठाएको कार्यसमिति मर्जको मागप्रति प्रतिक्रिया दिँदै स्नेहीले पार्टीको विधान प्रतिगमनतर्फ फर्किन नसक्ने स्पष्ट पारे। उनले प्रज्ञा प्रतिष्ठानमा इतर समूहले आयोजना गरेको कार्यक्रमलाई लक्षित गर्दै उक्त कार्यक्रममा ‘गालीबाहेक केही देखिएन’ भन्दै टिप्पणी गरे।
‘यो जुनीमा कार्यसमिति मर्ज सम्भव छैन। पार्टीको विधानभन्दा माथि कोही छैन। सभापतिलाई पनि विधानभन्दा बाहिर जाने अधिकार छैन। सबैले विधि, विधान र प्रक्रियाको सर्वोच्चता स्वीकार गर्नुपर्छ,’ उनले भने।
स्नेहीले कांग्रेस विभाजित पार्टी नभएकाले एकीकरणको प्रश्न नै नउठ्ने जिकिर गरे। ‘पार्टीको सत्ता चाहियो भन्दै आफूलाई विधानभन्दा माथि राख्ने कुरा कसरी जायज हुन सक्छ ?’ उनले प्रश्न गरे।
उनले विधि र कानुनी प्रक्रियाको अवज्ञा गर्ने पक्षले नै पार्टी विभाजनको जिम्मेवारी लिनुपर्ने चेतावनी दिए। ‘जसले विधान मानेन, निर्वाचन आयोगको निर्णय मानेन, सर्वोच्च अदालतको फैसला पनि मानेन र पार्टी विभाजनको धम्की दिइरहेको छ। यदि पार्टी विभाजन भयो भने त्यसको जिम्मेवारी त्यही पक्षले लिनुपर्छ,’ उनले भने।
स्नेहीले विधि–विधान नमान्नेहरू स्वाभाविक रूपमा पार्टीबाट अलग हुँदै जाने उल्लेख गर्दै भने, विधि, विधान र प्रक्रिया नमान्नेहरू छुट्दै जान्छन्, हामी रोक्न सक्दैनौँ।
यसैबीच, बिपी स्मृति दिवसको अवसरमा संस्थापन पक्षले बुधबार काठमाडौंमा ‘ग्रिन रन’ प्रतियोगितासहित देशका ७७ वटै जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरेको थियो। सोही अवसरलाई निरन्तरता दिँदै बिहीबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विचार गोष्ठी आयोजना गर्ने कार्यक्रम रहेको जनाएको छ।