मोरङको कानेपोखरी गाउँपालिका– ७ स्थित पूर्व–पश्चिम राजमार्गमा भएको हिट एन्ड रन घटनामा फरार रहेका चालकलाई प्रहरीले स्कार्पियो गाडीसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, ०८३ साउन ३ गते अज्ञात सवारीसाधनले पैदलयात्री पथरी–शनिश्चरे– १० त्रिवेणी चोकनिवासी ६० वर्षीय गोविन्द लिम्बूलाई ठक्कर दिई गम्भीर घाइते बनाएर फरार भएको थियो। उपचारका क्रममा लिम्बूको मृत्यु भएपछि प्रहरीले सवारी ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पथरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले साउन ६ गते राति करिब १० बजे सुनसरीको इटहरी उपमहानगरपालिका– ५ स्थित सडक डिभिजन कार्यालय परिसरमा लुकाइराखिएको अवस्थामा बा.२झ २२२६ नम्बरको स्कार्पियो फेला पारेको जनाएको छ।
उक्त सवारीका चालक सिराहा सुखीपुर गाउँपालिका– ८ निवासी ४४ वर्षीय राम उदगार मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा पक्राउ गरी स्कार्पियोसहित इलाका प्रहरी कार्यालय पथरी ल्याइएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।