- अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरीयतामा ८३औँ स्थान पाएको नेपालले अब एसियाली च्याम्पियनसिपदेखि ओलम्पिक छनोटसम्मका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ
नेपालको राष्ट्रिय खेल भलिबलको महिला र पुरुष दुवै टोली एफआइबीको विश्व वरीयतामा समावेश भएको छ । काभा पुरुष भलिबल च्याम्पियनसिपमा बुधबार कजाकस्तानविरुद्ध खेल्दै नेपालले वरीयता प्राप्त गरेको छ । विश्व पुरुष भलिबलमा नेपालले ८३औँ वरीयता हासिल गरेको हो । भलिबल इतिहासमा कोसेढुंगा बनेको दिन नेपालका ६ खेलाडीले कजाकस्तानविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् ।
पाकिस्तानको इस्लामाबादमा बुधबारदेखि सुरु भएको काभा पुरुष भलिबलमा कजाकस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि नेपाल ३–२ ले पराजित भयो । इस्लामाबादस्थित गारिसन जिन्नाहा स्पोर्टस् कम्प्लेक्समा प्रतियोगिताकै उद्घाटन खेलमा नेपालले ६५औँ वरीयताको कजाकस्तानविरुद्ध दुई सेट गुमाएको थियो । त्यसपछि उत्कृष्ट प्रदर्शन गरी नेपालले लगातार दुई सेट जित्दा खेल २–२ को बराबरीमा पुग्यो । निर्णायक सेटमा नेपाल १९–९ ले स्तब्ध भयो । पाँच सेटसम्म चलेको प्रतिस्पर्धामा कजाकस्तानले दुई र नेपालले एक अंक बटुलेका छन् ।
नेपालले बिहीबार बलियो टोली श्रीलंकाको सामना गर्नेछ । शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । त्यसपछि आइतबार बंगलादेश र सोमबार समूहको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ । काभा पुरुष भलिबलका लागि नेपालले लामो समयदेखि तयारी गरेको थियो । मुख्य प्रशिक्षक जगदीश भट्टले खेलाडीलाई प्रशिक्षण दिएका हुन् । गत जेठमा जगदीशकै प्रशिक्षणमा नेपालले काठमाडौंमै भएको महिला काभा च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । यो प्रतियोगिता पनि आधिकारिक रूपमा वरीयतामा समावेश गरिएको थियो । विश्व वरियता मान्यताप्राप्त सो प्रतिस्पर्धामा नेपाली महिला टोली चौथो भएको थियो । सो प्रतिस्पर्धामा नेपालले छिमेकी राष्ट्र भारतलाई पाखा लगाएको थियो । महिला वरीयतामा भारतभन्दा नेपाल एक स्थान अगाडि छ । नेपालले ६८औँ र भारतले ६९औँ स्थान पाएका छन् ।
एकैपटक ५७औँ स्थान सुधार
प्रतियोगितामा सहभागी हुनुअघि नेपाल अन्तर्राष्ट्रिय भलिबलको पुरुष वरीयतामा १४०औँ स्थानमा थियो । कजाकस्तानसँगको प्रतिस्पर्धाअघि नेपालले वरीयतामा एकैपटक ५७औँ स्थान सुधार गरेको हो । अब नेपाली पुरुष टोली विश्व वरीयतामा ८३औँ स्थान रहेको छ । यसैगरी नेपालविरुद्ध प्रतिस्पर्धा गरेको कजाकस्तानले तीन स्थान सुधार गरेको छ । उसले ६२औँ वरीयता पाएको छ । नेपालभन्दा एक स्थानमाथि युएई रहेको छ ।
नेपालभन्दा अगाडि एसियाका बलिया राष्ट्रहरू छन् । किर्गिस्तान ७६, साउदी अरेबिया ७७औँ र तुर्केमिस्तान ७५औँ स्थानमा छन् । यसैगरी, थाइल्यान्ड ६८औँ स्थानमा रहँदा भियतनाम ६५औँ स्थानमा छ । अन्तर्राष्ट्रिय भलिबल संघले प्रतियोगिताको नतिजाका आधारमा वरीयता निर्धारण गर्छ । नेपालले पछिल्लो समयमा काभा च्याम्पियनसिपलगायत अन्तर्राष्ट्रिय महत्वपूर्ण अन्तर्राष्ट्रिय स्पर्धा खेलेको थियो । सोही प्रदर्शनका आधारमा नेपाललार्ई वरीयतामा समावेश गरिएको हो ।
एक दशकयता नेपाली पुरुष भलिबल टोलीको अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजा भने सन्तोषजनक छैन । सन् २०१७ मा नेपालले कांस्य पदक जितेको थियो । त्यसयता नेपालले पदक जित्न सकेको छैन । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता पनि कमै खेल्ने गरेको छ । गत वर्ष असारमा नेपालले अन्तिमपटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो ।
नेपालले पाउने सुविधा
एफआइभिबी विश्व वरीयतामा समावेश नेपाललाई अब अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने बाटो खुला भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितादेखि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पाउनेछन् । पुरुष टोलीले सन् २०१८ को जाकार्ता र सन् २०२३ को हाङझाउ एसियाडमा छनोट स्थान रक्षा गर्न सकेन । अहिले एफआइभिबीको विश्व वरियतामा समावेश भएपछि पुरुष टोलीले त्यस्ता प्रतियोगिता खेल्ने अवसर पाउन सक्छ । महिला टोलीले भने जापानमा हुने २०औँ एसियन खेलकुद प्रतियोगितामा स्थान पक्का गरिसकेको छ । महिला टोली एसियाडको तयारीमा छ ।
नेपालको पुरुष टोलीले भलिबलको सर्वोच्च निकाय फेडेरेसन इन्टरनेसनल भलिबल (एफआइसभबी) र एसियाली भलिबल कन्फेडेरेसन (एभिसी)ले आयोजना गर्ने आधिकारिक प्रतियोगिता र छनोट प्रतियोगिता पनि खेल्ने अवसर पाउनेछ । यसैगरी नेपालले एसियाली च्याम्पियनसिपदेखि ओलम्पिक छनोटसम्मका लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।
अन्तिम सेटसम्म नेपालको चुनौती
प्रशिक्षक जगदीशले कजाकस्तानविरुद्ध सेटर हरिहजुर थापाको नेतृत्वमा नेपाली टोलीलाई कोर्टमा उतारेका थिए । राष्ट्रिय टोलीका धेरै सिनियर खेलाडी अस्ट्रेलिया पलयान भएपछि प्रशिक्षक जगदीशले नयाँ खेलाडीलाई अवसर दिएका हुन् । हरिहजुरसँगै अनुभवी लिबेरो विनोद चन्द, पहल गहतराज, सुरज चुनारा, रविन नगरकोटी र हिमाल सुनारीले सेटमा अवसर पाएका थिए । नेपाल पहिलो सेट २५–१९ र दोस्रो सेटमा २५–२१ ले पराजित भयो । तेस्रो सेटमा प्रभावशाली प्रदर्शन गर्दै नेपाल ३४–३२ ले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
चौथो सेटमा पनि कजाकस्तानविरुद्ध उत्कृष्ट खेल देखाउँदै नेपालले २५–१९ ले सेट जित्यो । तर, निर्णायक पाँचौँ सेटसम्म पुग्दा नेपाली खेलाडी थकित भइसकेका थिए । जसको फाइदा लिँदै कजाकस्तानले नेपाललाई १५–९ ले हरायो । प्रतियोगितामा नेपालसँगै आयोजक पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।