कालीकोट पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनालाई सरकारी सम्पत्ति अनियमिता गरेको आरोपमा मुद्दा लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पलाँता गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा तत्कालीन उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले तत्कालीन उपाध्यक्ष न्यौपानेसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन, सहायक लेखापाल मुनीप्रसाद प्याकुरेल, सब–इन्जिनियर विनोदकुमार बम र नन्दबहादुर सिंह, वडा नम्बर ९ का तत्कालीन वडाध्यक्ष टक्कबहादुर बम, योजनाको उपभोक्ता समितिका अध्यक्ष कुम्भबहादुर बम, कोषाध्यक्ष सुलाक्षिना बम र सचिव कमलबहादुर बमविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले आर्थिक वर्ष ०७५-७६ मा सञ्चालन गरिएको बेल्केढुंगा–लेखनवाडा–दुर्सी–पागोटी सडक निर्माण योजनाअन्तर्गत वास्तविक कार्यभन्दा बढी काम भएको देखाएर सरकारी कोषबाट रकम भुक्तानी गरेको र अनुसन्धानबाट योजनामा १ हजार २०० घनमिटर ग्याभिन भरिएको भनी झुटो नापी किताब, कार्य सम्पन्न प्रतिवेदन तथा मूल्यांकन तयार गरी उपभोक्ता समितिलाई ३८ लाख रुपैयाँ भुक्तानी गरिएको खुलेको आयोगले जनाएको छ ।
तर, आयोगको प्राविधिक टोलीले स्थलगत नापजाँच गर्दा ९३९.५० घनमिटर मात्र ग्याभिन भरिएको पुष्टि भएको छ। यसरी वास्तविक कार्यभन्दा २६०.५० घनमिटर कम काम भएको अवस्थामा समेत पूर्ण भुक्तानी दिइएको र त्यसबाट नेपाल सरकारलाई ८ लाख ८ हजार ६ सय ८० रुपैयाँ ५७ पैसाबराबरको हानि–नोक्सानी पुगेको आयोगको निष्कर्ष छ। उक्त योजनाका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।