सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष ०८२-८३ मा ३० करोड ३ लाख ३३ हजार ८ सय ४९ रुपैयाँबराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरी राजस्व तथा भन्सार कार्यालयमा बुझाएको छ।
साथै, पेस्तोल २ वटा तथा सोको १ वटा म्याग्जिन, ४ राउन्ड गोली र २ वटा भरुवा बन्दुकसहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको बाहिनीले जनाएको छ।
यसैगरी, सोही आर्थिक वर्षमा सो बाहिनी तथा मातहत कार्यालयहरूले ठुलो परिमाणमा लागुऔषधसहित १ सय ८१ जना पुरुष र १२ जना महिला गरी १ सय ९३ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको थियो।
बरामद गरिएका लागुऔषधहरूमा करिब १ किलो १ सय २३ ग्राम ब्राउन सुगर, १० हजार ७ सय ७३ किलोग्राम गाँजा तथा स्पास्मो प्रोक्सिन, ट्रामाडोल, नाइट्राभेट, डाइलक्स डिसी, लुपिजेसिक, फेनारगन, नाइट्रोजन, एभिल, डाइजेपामलगायतका छन्।
यसैगरी, मानव बेचबिखन कार्यमा संलग्न १ जना महिला र १८ जना पुरुषलाई नियन्त्रणम लिई सम्बन्धित निकायमा बझाउनुका साथै २३ महिला, २ पुरुष र १३ बालबालिकाको उद्धार गरी सम्बन्धित निकायमा बुझाएको छ।
बाहिनी तथा बाहिनीमातहत कार्यालयहरूले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत सीमामा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुका साथै गत आर्थिक वर्षमा विभिन्न समूह, क्लब, तथा शैक्षिक संस्थाहरूमा लागुऔषध दुर्व्यसनीसम्बन्धी सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको हो। त्यसैगरी नदीजन्य उत्खनन नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीले १ सय ४ वटा ट्याक्टर, ३ वटा टिपर र ५ वटा जेसिबीलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ।
सोही आर्थिक वर्षमा वन्यजन्तु तथा वनपैदावार चाेरीपैठारी नियन्त्रणको क्रममा गैँडाको खाग १ , हरिणको सिङ १ , २ हजार ३ सय ३३ क्युफिट विभिन्न जातको काठ बरामद गर्नुका साथै उक्त कार्यमा संलग्न २ जनालाई समेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।