बालुवा बोकेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११, झमसिङटारनजिक भित्री कच्ची सडकमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आइतबार साँझ करिब ५ बजे हेटौँडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ त ०३९७ नम्बरको ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्याक्टरचालक सल्यानको कपुरकोट गाउँपालिका– ३ निवासी २२ वर्षीय विक्रम खड्का गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राति १०:३० बजे चिकित्सकले खड्कालाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र अस्थायी प्रहरी पोस्ट थानाभर्याङबाट प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 

सुझावित समाचार