संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्त पदमा सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले आयोगका दुई आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारहरूको सुनुवाइ साउन १२ गते र प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरेको हो।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको सम्बन्धमा समितिमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको छ। प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइने तथा त्यसपछि तय गरिएको कार्यतालिकाअनुसार सुनुवाइ प्रक्रिया अघि बढाइने उनले बताए।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।