छात्राहरूमाथि यौनहिंसा गरेको आरोपमा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालका दुई शिक्षक र एक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यालयमा अध्ययनरत छात्राहरूलाई विभिन्न समाजिक सञ्जालमार्फत भौतिक रूपमा यौनहिंसा गरेको खुलासा भएपछि प्रहरीले अनुसन्धानका लागि शिक्षक र चालकलाई सोमबार नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा सुन्दरहरैँचा नगरपालिका– १० का स्कुल बसचालक प्रदीप भट्टराई र शिक्षकहरू किशोरलाल गच्छदार र अविलाल मास्के छन् । छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको खुलासा भएपछि कारबाही माग गर्दै विद्यार्थीहरू आन्दोलित भएपछि सोमबार बिहान १० बजे नियन्त्रणमा लिएर अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए ।
विद्यालयमा पढाउने शिक्षकहरूले नै छात्राहरूलाई सामाजिक सञ्जालमार्फत यौनजन्य सन्देश पठाउने र भौतिक रूपमा पनि जाँदा–आउँदा बाटो छेकेर हात समाएर यौन प्रस्ताव राख्ने गरेको विद्यार्थीहरूको आरोप छ । सामाजिक सञ्जालको हाइड पेजमार्फत घटना बाहिर आएको थियो ।
विद्यार्थीहरूका अनुसार छात्राहरूलाई शिक्षकले मोबाइलमा अनुचित तथा यौनजन्य प्रकृतिका सन्देश पठाउने, प्रायोगात्मक नम्बर बढाइदिने प्रलोभन देखाएर अश्लील तस्बिर माग्ने र यौन सम्पर्क गर्न प्रस्ताव गर्ने गरेका थिए । पीडित विद्यार्थीहरूले च्याटमार्फत साथीभाइसँग यो तथ्य खुलाएपछि त्यही पोस्ट हाइड पेजमार्फत सार्वजनिक भएको थियो ।