सडकमा कठोर बन्दै ट्राफिक प्रहरी

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण
  • वान–वेमा सवारी चलाउने, ओभर स्पिड, मापसे र लापसे, निषेधित क्षेत्रमा पार्किङ गर्ने र चलाउनेविरुद्ध ट्राफिक प्रहरी आक्रामक 

मोटरसाइकलको ह्विल लकपछि मुगुका गणेश नेपालीले आत्मदाह गरेसँगै यात्रुमाथि हुने कारबाहीलाई लिएर चौतर्फी आलोचना भइरहँदा ट्राफिक प्रहरी भने आक्रामक देखिएको छ । पछिल्ला दिन भएका कारबाहीका तथ्यांक विश्लेषण गर्दा यस्तो देखिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्ला दिन ट्राफिक प्रहरी ट्राफिक संकेत उल्लंघन गर्ने, गलत ठाउँमा सवारीसाधन अड्याउने, गलत ठाउँबाट मोड्ने, गलत साइडबाट सवारीसाधन चलाउनेविरुद्ध आक्रामक भएको छ । त्यस्तै, वान–वेमा जबर्जस्ती सवारीसाधन, अवस्था ठिक नभएको, ओभर स्पिड, निषेधित क्षेत्रमा पार्किङ गर्ने र सवारीसाधन चलाउनेविरुद्ध पनि ट्राफिक प्रहरी आक्रमक देखिएको छ ।

तथ्यांकअनुसार ट्राफिक संकेत उल्लंघन गरेको अभियोगमा गत चैतमा तीन हजार २१४ लाई कारबाही भएको थियो । तर, वैशाखमा यो दर दोब्बरले बढेर ६ हजार ४५५ पुग्यो । जेठमा सोही अभियोगमा पाँच हजार ९३२ र असारमा चार हजार ७३७ विरुद्ध कारबाही भए । गलत ठाउँमा सवारीसाधन अड्याएको अभियोगमा गत चैतमा ६ हजार ८२५ विरुद्ध मात्रै कारबाही भएको थियो । यो दर वैशाखमा ११ हजार २६, जेठमा आठ हजार ६९३ र असार सात हजार ८७१ पुग्यो । त्यस्तै, गलत ठाउँबाट सवारीसाधन मोड्नेविरुद्ध गत चैतमा एक हजार ८५८ जनालाई  कारबाही भएको थियो । वैशाखमा ६ हजार १६२, जेठमा आठ हजार ४९ र असारमा ६ हजार ५४१ जनालाई यो कसुरमा कारबाही गरियो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले लापरबाहीपूर्वक चलाइएका सवारीसाधनबाट धेरैको ज्यान गएको र कैयौँ गम्भीर घाइते भएको पाइएपछि कारबाही प्रक्रियालाई केही बढाइएको बताए । ‘काठमाडौं उपत्यकामा प्रत्येक दिन कम्तीमा एकजनाले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको भेटियो । घाइते हुनेको दर त्यतिकै धेरै छ । अधिकांश यस्ता घटनामा चालकको लापरबाही भएको देखियो । चालक मात्रै सचेत हुँदा यस्ता घटना कम हुने हाम्रो निष्कर्ष निस्कियो । त्यसपछि कारबाही प्रक्रियालाई केही बढाइएको हो । वर्षा भएको वेला भने यस्ता कारबाही कम हुने गर्छन्,’ उनले भने ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गर्नेविरुद्धको कारबाहीलाई पनि तीव्रता दिएको छ । तथ्यांकअनुसार ट्राफिक प्रहरीले गत चैतमा दुई हजार ९९१ विरुद्ध मापसे कारबाही भएको थियो । यो दर बढेर वैशाखमा तीन हजार १४६ पुग्यो । जेठमा तीन हजार ६५७ र असारमा दुई हजार ७२४ पुग्यो ।

नेपाल प्रहरीको तथ्यांकअनुसार मुलुकभर प्रत्येक दिन १०३ वटा सवारीसाधन दुर्घटनामा पर्छन् । जसमा कम्तीमा सातजनाले ज्यान गुमाउँछन् । यस्ता ५५.८५ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण हुने गर्छन् । त्यसमा मादक पदार्थ सेवनको हिस्सा ५.२५ प्रतिशत छ । यो दर काठमाडौं उपत्यकामा अझ धेरै छ । त्यसैले पनि ट्राफिक प्रहरीले यो कसुरमा संलग्न हुनेविरुद्धको कारबाहीलाई आक्रामक बनाएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । ‘उपत्यकाभित्र हुने अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण हुने गर्छन् । त्यसमा मापसेको हिस्सा अधिक देखिन्छ । त्यसो हुँदा हामीले यसविरुद्धको कारबाहीलाई केही बढाएका छौँ । यसले दुर्घटना पनि कम गरेको छ । दुर्घटना घट्दा मृत्यु हुनेको दर पनि घट्छ,’ उनले भने ।

त्यसबाहेक बत्ती नबाली सवारीसाधन चलाउने, विनानम्बर प्लेट र बढी वजन बोक्ने सवारीसाधन, सिटबेल्ट वा हेल्मेट नलगाउने चालक, यात्री लिन इन्कार गर्ने, बढी भाडा असुल र लाइसेन्स साथमा नराखी सवारीसाधन चलाउनेविरुद्ध पनि ट्राफिक प्रहरी कडा देखिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ का उपदफा १ अनुसार त्यस्ता कसुरमा संलग्न हुनेविरुद्ध यातायात निरीक्षक वा प्रहरीले पाँच सय रुपैयाँदेखि एक हजार पाँच सय रुपैयाँसम्म कारबाही गर्न सक्छ ।

ऐनमा लेखिएको छ, ‘कसुर पहिलोपटक गर्नेलाई पाँच सय रुपैयाँ, दोस्रोपटक गर्नेलाई एक हजार रुपैयाँ र तेस्रोपटक वा सो भन्दा बढी पटक गर्नेलाई एक हजार पाँच सय रुपैयाँको जरिवाना यातायात निरीक्षक वा घटीमा सहायक प्रहरी निरीक्षक दर्जासम्मको अधिकृतले तत्काल गर्न सक्नेछ ।’ ट्राफिक नियम नमान्ने, जथाभावी ढोका खोल्ने, ओभरटेक, चालक निदाउने, मापसे, मोबाइल फोनको प्रयोग, विनालाइसेन्स सवारीसाधन चलाउनेलगायत क्रियाकलापलाई कानुनले चालकको लापरबाही ठान्छ । यही कारण मुलुकभर ५५.८५ प्रतिशत दुर्घटना हुने गर्छ । ट्राफिक प्रहरीले यो कसुरमा संलग्नविरुद्ध पनि कारबाहीलाई आक्रामक तुल्याएको छ । तथ्यांकअनुसार गत चैतमा उपत्यकाभित्र ट्राफिक प्रहरीले आठ हजार ७७४ जनाविरुद्ध मात्रै लापरबाही कसुरमा कारबाही चलाएको थियो । वैशाख, जेठ र असारमा कारबाहीको दर बढेर ११ हजार २१६, दश हजार ६९८ र ८ हजार ६१२ पुगेको छ । यो कसुरमा पनि कसुरदारलाई पाँच सय रुपैयाँदेखि एक हजार ५०० रुपैयाँसम्म नै जरिवाना हुन्छ ।

सबैभन्दा धेरै कारबाही गर्मीयाममा 
तथ्यांकअनुसार ट्राफिक प्रहरीले सबैभन्दा धेरै कारबाही गर्मीयाममा गर्ने गरेको देखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका तथ्यांकअनुसार एक वर्षमा सबैभन्दा धेरै कारबाही साउनमा भएको देखिन्छ । यो महिनामा उपत्यकाभित्र मात्रै ९५ हजार ४८० भन्दा माथि कारबाही भए । जसबाट तीन करोड९४ लाख १९ हजार ०२९ राजस्व संकलन भयो । त्यसपछि असार महिनामा धेरै कारबाही भएको छ । असारमा ६३ हजार ०९९ विरुद्ध कारबाही भयो । जसबाट चार करोड ६७ लाख ५८ हजार ३०३ रुपैयाँ राजस्व संकलन भएको छ । भदौमा ६२ हजार ५७८ विरुद्ध कारबाही हुँदा दुई करोड ८७ लाख ११ हजार ५४२ रुपैयाँ राजस्व संकलन भएको थियो । वैशाखमा ६२ हजार पाँच सयविरुद्ध कारबाही गर्दा पाँच करोड २४ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । जेठमा ६१ हजार २८६ विरुद्ध कारबाही हुँदा पाँच करोड १५ लाख ७५ हजार ५९८ रुपैयाँ राजस्व संकलन भएको थियो ।

सबैभन्दा कम कारबाही असोजमा 
ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाभित्र सबैभन्दा कम कारबाही असोजमा हुने गरेको देखिएको छ । यो महिनामा एक हजार ८७६ विरुद्ध मात्रै कारबाही भयो । जसबाट मात्रै ३२ लाख ३८ हजार ५०४ रुपैयाँ राजस्व संकलन हुन सक्यो । कात्तिकमा १७ हजार ९८५ विरुद्ध कारबाही भएर १५ लाख ३८ हजार ६११ राजस्व संकलन भयो । त्यस्तै, मंसिरामा २४ हजार ५६३ विरुद्ध कारबाही हुँदा उनीहरूबाट दुई करोड ६१ लाख २६ हजार १३५ रुपैयाँ राजस्व संकलन भएको थियो । पुसमा २५ हजार ६९८ बिरुद्ध कारबाही भएर दुई करोड ७४ लाख २५ हजार ६६ रुपैयाँ राजस्व उठ्यो । माघमा ३० हजार १७६ विरुद्ध कारबाही भएर दुई करोड ७२ लाख ४३ हजार ६० रुपैयाँ र फागुनमा १७ हजार ३३१ विरुद्ध कारबाही भएर एक करोड ८४ लाख ४४ हजार ५४७ रुपैयाँ राजस्व संकलन भएको प्रहरी तथ्यांक छ ।

सुझावित समाचार