लोक सेवाका विज्ञापन रोकिँदैनः प्रधानमन्त्री कार्यालय
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लोक सेवा आयोगका नियमित विज्ञापन नरोकिने प्रस्ट पारेको छ । स्थायी पदमा यो वर्ष पदपूर्ति नगर्ने भनेर मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले गरेको निर्णयको आलोचना भएपछि प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर यसमा प्रस्टीकरण दिएको हो।
संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएपछि रिक्त हुने पदमा पदपूर्ति हुने विज्ञप्तिमा उल्लेख छ। यद्यपि, धेरै पद कटौती हुने भएकाले यो वर्ष लोक सेवामार्फत हुने भर्ना भने न्यून हुने सम्भावना छ।
सार्वजनिक बिदाको पुनरवलोकन गर्दै सरकार
सरकारले सार्वजनिक बिदाको पुनरवलोकन गर्ने भएको छ। सोमबार बसेको सचिवहरूको बैठकले यससम्बन्धि निर्णय गरेको हो।
यसका लागि गृह मन्त्रालयका सहसचिवको अध्यक्षतामा कार्यदल गठन गरिएको छ। कार्यदललाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ।
शनिबार र आइतबार बिदा दिन थालिएपश्चात् अन्य सार्वजनिक बिदाको पुनरवलोकन आवश्यक ठानिएको हो। दुई दिनको बिदाको विषयमा भने सरकारले तत्कालै कुनै निर्णय गरेको छैन ।
पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन्।
सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। कार्यान्वयनमा आएको नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको सुरुवात भएको भन्दै अर्थमन्त्रीले विगतको पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिएका हुन्।
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि ३५ जनाको आवेदन
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सोमबार आवेदकहरूको विवरण सार्वजनिक गरेको हो।
सांसदका स्वकीयको योग्यता तोकियो
सरकारले सांसदहरूका स्वकीय सचिवको न्यूनतम शैक्षिक योग्यता तोक्दै त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सूचनाअनुसार अब सांसदका स्वकीय सचिवको सेवा–सुविधा र योग्यता सरकारी सेवाका सम्बन्धित श्रेणीका कर्मचारीसरह हुनेछ।
सांसदले एक स्वकीय सचिव राख्न पाउँछन्, जसका लागि राजपत्र अंकित तृतीय श्रेणीसरहको योग्यता तोकिएको छ। यसैगरी, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक, विपक्षी दलको सचेतक, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक र सभापतिको स्वकीय सचिवका लागि राजपत्र अंकित द्वितीय श्रेणीसरहको योग्यता आवश्यक पर्नेछ।
धितोपत्र व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजीबजारलाई विशेष प्राथमिकता दिएको बताएका छन्। पुँजीबजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँगको छलफलका क्रममा प्रधानमन्त्रीले पुँजीबजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताए।
व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै उनले नेपालको पुँजीबजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिए। यसबाट उद्यमशीलता फस्टाउने र रोजगारीका अवसरहरू थपिने उल्लेख गर्दै उनले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने, तर गल्ती गर्नेहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पारे।
सामाजिक सुरक्षा भत्ता अनियमिततामा वडाध्यक्षसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सामाजिक सुरक्षा भत्ता दुरुपयोगमा ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ३ मा योग्यता नपुगेका व्यक्तिहरूलाई बृद्ध, दलित तथा बिधवा भत्ता दिएर २९ लाख हिनामिना भएको हो।
जसमा पालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुर, वडा नम्बर ३ का अध्यक्ष धर्मेन्द्रकुमार झा र वडासचिव उमेश चौधरी र अन्य लाभग्राहीविरुद्ध मुद्दा दायर भएको हो।
एक साताभित्र सेजको भाडा नतिरे विद्युत् र पानी काट्ने चेतावनी
सरकारले विशेष आर्थिक क्षेत्र (सेज)भित्रका उद्योगहरूलाई सम्पूर्ण बक्यौता एक साताभित्र बुझाउन निर्देशन दिएको छ। एक साताभित्र भाडा नतिरे सम्बन्धित उद्योगको बिजुली र खानेपानी सेवा काटिने सेज प्राधिकरणको चेतावनी छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवको सक्रियतापछि प्राधिकरणले विभिन्न विशेष आर्थिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूको भाडा, सेवा शुल्क तथा अन्य रकमको विवरण सार्वजनिक गर्दै तत्काल बक्यौता असुली गर्न निर्देशन जारी गरेको हो।
नेप्से ४१ अंकले बढ्दा साढे पाँच अर्बभन्दा बढीको सेयर कारोबार
लगातार पाँचौँ दिन उकालो लागेको नेप्से परिसूचक सोमबार १.५५ प्रतिशतले बढेको छ। नेप्से ४१.७० अंकले वृद्धि भएर दुई हजार ७१९.२४ विन्दुमा पुगेको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले बढेको छ।
आज ३४३ कम्पनीका एक करोड २२ लाख ४५ हजार कित्ता सेयर पाँच अर्ब ५१ करोड २६ लाखमा किनबेच भए। अघिल्लो दिन नेप्से ७९ अंकले बढ्दा चार अर्ब ५७ करोडबराबरको सेयर कारोबार भएको थियो।
बर्खायाम र जीर्ण सडक तातोपानी नाकाको बाधक
भूकम्पपछि आंशिकरुपमा खुला तातोपानी नाका मध्यबर्खामा सधैँ बन्द हुन्छ । यसप्रति सरकार कहिल्यै संवेदनशील र जिम्मेवार बनेन । सडक डिभिजन कार्यालय चरिकोटले खटाएका मेसिन र केही टिप्परले पहिरोमा लेदो पन्छाएको देखिन्छ । जताततै सडकभर रहेको लेदो ती मेसिनले पन्छाएर साध्यलाग्ने कुरा पनि भएन । साउन सुरु भएयता नाकामा कन्टेनर र अन्य साना सवारीसाधनको आवतजावत बन्द छ ।
नेपाल–चीन जोड्ने अन्तर्राष्ट्रिय राजमार्ग अरनिकोको २६ किलोमिटर कोदारी खण्डलाई चिन्ता र त्रासको सडकमार्ग भनेर चिन्दा पनि हुन्छ । मित्रराष्ट्र चीनबाट आयात गर्ने व्यापारीवर्ग समयमा सामान नआएर र बाटोमै क्षति भएर घाटा व्यहोर्नुपर्ने चिन्तामा हुन्छन् भने यातायात क्षेत्रमा काम गर्ने कन्टेनर चालक पहिरोले पुर्ने त्रासमा सडकका किनारमा भौतारिरहेका हुन्छन् ।