काभ्रेपलाञ्चोकमा रोशी खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। रोशी गाउँपालिका– ७, कटुन्जेबेँसीका करिब ७५ वर्षीय मोतीमान पाख्रिनको खोलाले बगाएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पाख्रिनलाई सोमबार दिउँसो रोशी गाउँपालिका– ७ रोशी भिलेजनजिकैबाट खोला तर्ने क्रममा बगाएको थियो। सूचना पाएपछि प्रहरी चौकी कटुन्जेबेँसी र इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले खोजतलासका क्रममा रोशी– ८ गिम्दीबेँसीस्थित खोलाको किनारमा पाख्रिनलाई मृत अवस्थामा फेला पारेको हो।
कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ लागेको छ। घटनाको स्थलगत अनुसन्धानपछि पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा ल्याउने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।