प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज पुँजीबजार, धितोपत्र व्यवसाय र बिमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने बैठक दिउँसो १२ बजे सुरु हुने जनाइएको छ।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसाेसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल र नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुनेछन्।
त्यस्तै, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ पनि बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेलसमेत छलफलमा सहभागी हुनेछन्।
बैठकमा पुँजीबजारको पछिल्लो अवस्था, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रको सुदृढीकरण, आवश्यक नीतिगत सुधारका पहलहरू र समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग विस्तृत छलफल गरिने बताइएको छ।