फिफा विश्वकप–२०२६ को आइभोरीकोस्टविरुद्धको समूह चरणको खेलमा जर्मनीले २–१ को कठिन जित निकाल्यो । जर्मनीका तर्फबाट दुवै गोल डेनिज उन्डाभले खेलको अन्त्यतिर गरेका थिए । हारिसकेको खेललाई ‘सब्स्टिच्युट’मा मैदान पसेका उन्डाभले उल्ट्याएपछि धेरै जर्मन फ्यानले उनलाई राष्ट्रिय नायकजस्तो व्यवहार गरे । तिनले टर्किस–सिरियाली अभिभावकका कुर्दिस याजिदी जातिका उन्डाभ धेरैले भन्ने गरेजस्तो जर्मनजस्तो नदेखिने पनि ख्याल गरेनन् ।
फुटबल प्रतियोगितामा पहिलो वा दोस्रो पुस्ताका आप्रवासी खेलाडीले शरण दिने देशका लागि उत्साहजनक जित दिलाएको यो एकल घटना होइन । यस्ता दृश्य आम देखिन्छ । यसैकारण पनि फुटबलले विश्वमा अन्य कुनै खेलभन्दा बढी दर्शक पाएको होला । जर्मनीमा मात्र होइन, युरोपका धेरै टिममा पहिलो वा दोस्रो पुस्ताका आप्रवासी खेलाडीको उल्लेख्य उपस्थिति छ । जस्तो, फ्रान्सको राष्ट्रिय टोलीमा त यसपटक २६ मध्ये १६ यस्तै खेलाडी थिए ।
राजनीतिमा आप्रवासीलाई उग्रदक्षिणपन्थी र उग्रवामपन्थीले मन पराउँदैनन् । तर, आप्रवासी खेलाडीको फुटबल समूहमा सम्मिलनले आफ्नो देशलाई माया गर्नु र आप्रवासीलाई स्वागत गर्नु असंगत आवेग मात्र नभएको देखाएका छन् । जबकि, दक्षिणपन्थी समूहले यसलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्दै घृणा व्यक्त गर्छन् भने वापमन्थमाझ त राष्ट्रिय गौरवलाई पुरातन मानिन्छ ।
लामो समयदेखि राजनीतिक चरमपन्थीले विविधता र राष्ट्रिय गौरव सँगसँगै जान नसक्नेमा जोड दिँदै आएका छन् । हिजोआज अधिकांश औद्योगिक देशको मूलधारको राजनीति सांस्कृतिक र जातीय रूपमा फरक मानिसको आगमन र त्यसले निम्त्याउन सक्ने कथित कलहबारे चिन्तित देखिन्छ । कुनै समय इन्टरनेटको अँध्यारो कुनामा सीमित आप्रवासीले युरोपेली जातिलाई नै अल्पसंख्यक बनाउँदै छन् भन्ने ‘महान् प्रतिस्थापन सिद्धान्त’ अहिले मूलधारको राजनीतिमा प्रवेश गरेको छ ।
हालै ‘युगभ’ले गरेको एक सर्वेक्षणले ४५ प्रतिशत बेलायती, ५० प्रतिशत डेनिस, ५१ प्रतिशत फ्रान्सेली, ५३ प्रतिशत जर्मन, ५१ प्रतिशत इटालियन, ५२ प्रतिशत पोलिस र ४६ प्रतिशत स्पेनिसहरूले आप्रवासन रोक्ने र भर्खरै देश भित्रिएकालाई फर्काउने कानुनको समर्थन गर्ने बताएका थिए ।
निश्चित रूपमा सबैभन्दा कठोर काल्पनिक परिदृश्यमा आप्रवासीको जातीय सफायाजस्तो प्रक्रियामार्फत जबर्जस्ती निष्कासन हुन्छ । यसप्रति धेरै समर्थन रहेको प्रमाण छैन । तथापि, सर्वेक्षणको परिणामले नरम चिन्ता बढाउन सक्छ । मुख्यतः पछिल्ला सर्वेक्षणको परिणाम एक दशकअघिको अवस्थाभन्दा फरक छ । त्यस समय धेरै देशमा जनताले मध्यपूर्वमा युद्धबाट भागेका लाखौँ आप्रवासीलाई स्वागत गरेका थिए ।
उता यही समय अधिकांश वामपन्थी भने प्रत्येक मुद्दालाई उत्पीडक र उत्पीडितको लेन्सबाट हेर्दै समस्याग्रस्त दिशातर्फ गएका छन् । तिनका भाष्यमा पश्चिमी देश सधैँ खलनायक हुन्छन् । त्यस्तै, देशभक्तिलाई शंका वा तिरस्कारसाथ हेरिन्छ । वामपन्थी भाष्यको प्रभावले होला, तिनको सोचको प्रभाव मतसर्वेक्षणमा पनि प्रतिबिम्बित हुन्छ । ‘ग्यालप’को सर्वेक्षणअनुसार, अमेरिकी हुनुमा ‘अत्यन्त गर्व’ गर्ने अमेरिकी डेमोक््रयाट (मध्य–वामपन्थी पक्षधर)को हिस्सा सन् २००० को दशकको सुरुवातमा ६० प्रतिशत रहेकोमा यो सन् २०१९ मा मात्र २२ प्रतिशतमा झरेको पाइयो ।
अमेरिकीमाझ देशप्रतिको गर्वभावमा उल्लेख्य गिरावट डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा आएको थियो । यसले आमअमेरिकीमा देशप्रतिको सोच सैद्धान्तिक आधारमा भन्दा पनि शासकप्रतिको असन्तुष्टिबाट प्रतिबिम्बित गर्न सक्छ । तैपनि, वामपन्थी विचार राख्ने अमेरिकीमा भने राष्ट्रिय गौरवको विषय क्रोधित पार्ने अझ गहिरो लज्जास्पद विषय बनेको छ । यो एक चिन्ताजनक प्रवृत्ति हो । किनभने साझा पहिचान नहुने हो भने राष्ट्रिय राजनीति पछाडि पारिएका समुदायलाई उठाउने नीतिवरपर गोलबन्द हुने सम्भावना कम हुन्छ ।
निश्चित रूपमा व्यावसायिक खेलाडी समाजको उत्तम ऐना होइनन् । राष्ट्रिय टोली भनेको एउटा सानो र ठुलो स्रोतसाधनयुक्त तीव्र रूपमा व्यवस्थित समूह हो । खेलकुदमा खेलाडीको मेलबाहिर चर्चा हुनेजस्तो सहज पनि छैन । युरो–२०२० को फाइनल हारेपछि इंग्ल्यान्डका अश्वेत खेलाडीविरुद्ध नश्लवादी दुव्र्यवहारको बाढी आएको थियो । फ्रान्सेली टोलीका विषयमा बारम्बार को वास्तविक फ्रान्सेली हुन् भन्ने बहस हुन्छ । र, अमेरिकाको खेल इतिहास त्यहाँको नश्लवादको कुरूप इतिहाससँग जोडिन्छ । राष्ट्रिय मेलमिलापप्रति धेरै सकारात्मक भए पनि एल्गोरिदमको यस जमानामा सानो समूहले पनि नश्लवादलाई चर्काइदिन सक्छ ।
विश्वकपले पनि जातीय मेलमिलाप सजिलो नरहेको देखाउँछ । तर, यसले अतिवादीले अस्वीकार गर्ने एउटा कुरा भने गलत पुष्टि गर्छ, जातीय एकीकरण र देशभक्तिपूर्ण गौरवसँगसँगै जान सक्छन् । आफ्नो बहुजातीय टोलीले राष्ट्रिय झन्डा बोकेको हेरिरहेका धेरै देशका प्रशंसकले यसबारे धेरै नघोत्ली दुवैको अनुभव गरिरहेका छन् । यदि उग्रदक्षिणपन्थी र उग्रवामपन्थी अभियन्ताले पनि आफ्ना विचारको बन्धनबाट बाहिरिएर केही खेल हेरे भने तिनले पनि बाँकी हामीले पहिले नै थाहा पाइसकेको कुरा थाहा पाउनेछन् । जब राष्ट्रिय एकीकरण र राष्ट्रिय गौरव सँगसँगै जान्छन्, तब परिणाम प्रायः सकारात्मक नै हुन्छ ।
प्रोजेक्ट सिन्डिकेटबाट (सन् २०२४ को अर्थशास्त्रमा नोवेल पुरस्कार विजेता एसेमोग्लु एमआइटीमा अर्थशास्त्रका प्राध्यापक हुन्)