अर्जेन्टिनाले प्रदर्शन गरेको ब्यानर विवादको बचाउमा ट्रम्प

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

२३औँ संस्करणको विश्वकप फुटबलअन्तर्गत सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएपछि अर्जेन्टिनाले फकल्यान्ड टापुमाथि आफ्नो दाबी गर्दै ब्यानर प्रदर्शन गरेको थियो । यस विषयलाई लिएर विश्वभर नै अर्जेन्टिनी टोलीको विरोध भयो । फिफाले पनि खेल भावनाविपरीत कार्य गरेको भन्दै अर्जेन्टिनामाथि छानबिन सुरु गर्ने जनाएको छ । यसैबिच अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्जेन्टिनाको स्वतन्त्रताको अधिकार भन्दै उसको बचाउ गरेका छन् । 

ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा अर्जेन्टिनी टोलीको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको पक्षमा रहेको भन्दै राष्ट्रपति ट्रम्पले आफ्नो अभिव्यक्ति राखेका हुन् । ‘अमेरिकी संविधानको प्रथम संशोधनले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रतामा हामी विश्वास गर्छौँ,’ ट्रम्पले भने, ‘संविधानले निर्देशन गरेअनुसार अर्जेन्टिना स्वतन्त्रताको पक्षमा उभिएको देखिन्छ ।’ अर्जेन्टिनाका खेलाडीले ‘लास माल्भिनास सन अर्जेन्टिनास’ ब्यानर प्रदर्शन गरेका थिए । जसको अर्थ फकल्यान्ड टापु अर्जेन्टिनाकै हो । यसैगरी, ह्वाइटहाउसको विश्वकप कार्यदलका प्रमुख एन्ड्र्यु जिउलियानीले अर्जेन्टिनी टोलीलाई अमेरिकामा आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता रहेको बताए । 

विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध जित निकालेपछि अर्जेन्टिनी खेलाडीले मैदानमा फकल्यान्ड आफूहरूको भएको दाबीसहित ब्यानर प्रदर्शन गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्जेन्टिनाको स्वतन्त्रताको अधिकार भन्दै उसको बचाउ गरे । 

जिउलियानीको यस अभिव्यक्तिले विवादलाई तीव्र बनाएको छ । बेलायत सरकारले ट्रम्प र जिउलियानीको अभिव्यक्तिमाथि कडा आलोचना गरेको छ । बेलायतले घटनाको छानबिन गर्न फिफालाई आग्रह गरेको छ । दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड टापुमाथि बेलायत र अर्जेन्टिनाले दशकौँदेखि सार्वभौमसत्ताको दाबी गर्दैै आइरहेका छन् । सन् २०१३ मा भएको जनमतसंग्रहमा फकल्यान्डका बासिन्दाले अत्यधिक बहुमतका साथ बेलायती वैदेशिक क्षेत्रकै रूपमा रहिरहने पक्षमा मतदान गरेका थिए । एक हजार ५१७ मतमध्ये एक हजार ५१३ मत बेलायतसँगै रहने पक्षमा र केवल तीन मत मात्र विपक्षमा परेको थियो । 

 छानबिनको माग
बेलायतको प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले अर्जेन्टिनी खेलाडीको ब्यानर प्रदर्शनबारे छानबिन हुनुपर्ने माग राखेको छ । बेलायतले आइतबार फिफालाई घटनाको स्वतन्त्रतापूर्वक छानबिन हुनुपर्ने धारणा दोहो¥याएको हो । ‘विश्वकप हाम्रो नहुन सक्छ, तर फकल्यान्ड टापु निश्चित रूपमा बेलायतको हो,’ बेलायतको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फकल्यान्डप्रतिको प्रतिबद्धता बेलायतको कहिल्यै कमजोर हुने छैन ।’ बेलायती प्रधानमन्त्री कार्यालयले अर्जेन्टिनालाई कारबाही गर्ने वा नगर्ने निर्णय फिफासँग रहेको जनाएको छ । 

‘फिफाबाट निष्पक्ष छानबिनको आशा गरेका छौँ । आशा छ विश्वकप जस्तो पवित्र स्थानमा यस्तो फोहोर कार्य गर्नेमाथि कडा कारबाही हुनेछ,’ बेलायतले भनेको छ, ‘यसकारण हामी विश्व फुटबलको सर्वोच्च निकायले घटनाको अनुसन्धान गर्नुपर्ने धारणा फेरि राख्छौँ ।’ फकल्यान्ड टापु सरकारले पनि अर्जेन्टिनी खेलाडीको व्यवहारप्रति असन्तुष्टि जनाएको छ । ‘खेलकुदमा राजनीति मिसिएको हेर्न चाहँदैनौँ । इंग्ल्यान्ड र अर्जेन्टिनाबिचको प्रत्येक विवादमा फकल्यान्ड टापु र यहाँका बासिन्दालाई राजनीति वा फुटबलको विषय बनाइयोस् भन्ने पनि चाहँदैनौँ,’ फकल्यान्ड सरकारले भनेको छ । 

सुझावित समाचार