शनिबारबाट सक्रिय बनेको मनसुनी प्रणालीका कारण आज आइतबार राति पनि देशभर वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालनजिक) अवस्थित रहेकाले राति पनि देशभर वर्षाको सम्भावना देखिएको छ।
राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका अधिकांश पहाडी भूभाग, लुम्बिनी र कर्णालीका धेरै पहाडी क्षेत्र र तराईका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुनेछ। तर, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी पनि विभागले दिएको छ।
पछिल्लो २४ घन्टामा देशभर वर्षा भएको छ। यो अवधिमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको गोब्रेमा १०८.८ मिलिमिटर भएको छ।
सोमबार पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। कोशी र सुदूरपश्चिमका पहाडी र तराईका थोरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।