गत साता सर्प उद्धारको तालिमपछि उद्धार कार्य सुरु गरेको मनरा सिसवा नगरपालिकाका नगर प्रहरीको सर्प उद्धार टोलीले तीन विषालुसहित हालसम्म सात सर्प उद्धार गरिसकेकाे छ।
मिथिला वाइल्ड लाइफ ट्रस्टको सर्प उद्धार विज्ञबाट तालिम प्राप्त नगर प्रहरी तालिमपश्चात् उद्धार कार्यमा खटिएका हुन्। उक्त टोलीले पालिकाभित्र ६ र मटिहानी नगरपालिकामा एक गरी हालसम्म सातवटा सर्प उद्धार गरेकाे हाे।
मनरा सिसवाका नगर प्रमुख मोहन पाण्डेयले नागरिकको ज्यानसँगै पर्यावरणलाई सन्तुलन राख्न मद्दत गर्ने सर्पसमेतको ज्यान उति नै महत्त्वपूर्ण भएकाले मानव र सर्प दुवैको ज्यान जोगाउन पालिकाले यो विपतसम्बन्धी सेवा सुरु गरेको बताए। पालिकाबाट सर्प उद्धारको सेवा सुरु भएसँगै पालिकाभित्र र अन्य पालिकाबाट समेत सर्प उद्धारका लागि फोन आइरहेको उनले बताए।