धनकुटा नगरवासीलाई स्वच्छ, सुरक्षित तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्यसहित धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सेडिमेन्टेसन ट्यांकीको निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। संघीय खानेपानी तथा ढल निकास आयोजनाको आर्थिक सहयोगमा उक्त ट्यांकीको निर्माण भइरहेको हो। सेडिमेन्टेसन ट्यांकी पानी शुद्धीकरण प्रक्रियाको महत्वपूर्ण संरचना हो।
यसमा पानीमा मिसिएका माटो, लेदो तथा अन्य ठोस कणहरूलाई तल बसालेर पानीलाई थप सफा बनाइने भएकाले उपभोक्तासम्म पुग्ने खानेपानी अझ सुरक्षित र गुणस्तरीय हुने धनकुटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको विश्वास लिएको छ। निर्माणाधीन सेडिमेन्टेसन ट्यांकी सञ्चालनमा आएपछि उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन महत्त्वपूर्ण सहयोग पुग्ने धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले बताए।
उक्त ट्यांकी निर्माण भएपछि यसले पानी शुद्धीकरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षामा समेत सकारात्मक योगदान पुर्याउने सचिव छाराहाङले बताए। आयोजनाको निर्माणका लागि २०८२ साल भदौ १ गते सम्झौता भएको थियो। निर्माण कार्य निर्धारित योजनाअनुसार अघि बढिरहेको समितिले जनाएको छ। धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २० प्रतिशत अर्थात् १२ लाख २६ हजार रुपैयाँ लगानी रहेको छ भने संघीय खानेपानी तथा ढल निकास आयोजनाको ८० प्रतिशत अर्थात् ४९ लाख सात हजार रुपैयाँ आर्थिक सहयोग रहेको समितिले जनाएको छ।
यसका अतिरिक्त आयोजनालाई थप प्रभावकारी बनाउन कार्यालयको तर्फबाट १५ लाख ७१ हजार रुपैयाँबराबरको फिटिङ सामग्री उपलब्ध गराइएको छ। साथै, पानी आपूर्तिलाई सहज र भरपर्दो बनाउन ६० एचपी क्षमताका दुईवटा पम्पसमेत सहयोगस्वरूप उपलब्ध भएको उपभोक्ता समितिले जनाएको छ।