संखुवासभाको मादीमा आफ्नै श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शनिबार बिहान करिब ५:५० बजेकाे समयमा जिल्लाको चैनपुर नगरपालिका -७ स्थायी घर भई हाल मादी नगरपालिका-४, डाडाँगाउँमा बस्ने ५६ वर्षीय अमरबहादुर सार्कीले आफ्नै श्रीमती ४३ वर्षीय फूलमाया मुदेललाई घरायसी विवादको कारण आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीले बताए।
उनका अनुसार, श्रीमान्-श्रीमतीबिच घरायसी विवाद भएको र खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेर अमरबहादर आफैँ मंगलबारे प्रहरी चौकी पुगेका थिए। मंगलबारे प्रहरी चौकी मादी संखवासभाबाट प्रहरी सहायक निरीक्षक मीनप्रसाद दाहालको कमान्डमा ४ जनाको टोली खटी गई घटनास्थल सुरक्षित राखिएको साथै घटनाको अवस्था बुझी निज अमरबहादुर सार्कीलाई धारिलो हतियारसहित नियन्त्रणमा लिई प्रहरी चौकीमा राखिएको र घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमान्डमा टोली खटिगएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।