उच्च अदालत पाटनमा १८ महिनाभन्दा पुराना मुद्दा शून्यमा झरेका छन्। आर्थिक वर्षको अन्तिममा सार्वजनिक तथ्यांकका अनुसार एक वर्षभन्दा पुराना मुद्दा संख्या पनि ३५३ थान मात्र छन्। देशभरका १८ उच्च अदालत तथा इजलासहरूमध्ये पाटनमा मात्र झन्डै एक चौथाइ मुद्दा पर्ने गरेका छन्। अभिलेखअनुसार पाटनमा पाँच हजार ६ सय ९ थान मुद्दा जिम्मेवारी सरी आएका थिए। साथै, १० हजार पाँच सय ३० नयाँ दर्ता भएकामा कुल लगत १६ हजार एक सय ३९ वटा थिए।
पाटनले ६६ प्रतिशत मुद्दा फर्स्योटको लक्ष्य लिएकामा ७१.०५ प्रतिशत मुद्दा किनारा लगेका छन्। अब चार हजार ६७१ मुद्दा तथा रिट फैसला हुन बाँकी रहेको अभिलेख अदालतको छ। उच्च अदालत पाटनको इतिहासमै पहिलोपटक डेढ वर्ष पुराना मुद्दा शून्यमा झरेको अदालत प्रशासनले जनाएको छ।
मुद्दाका पक्षहरूको सहजताका लागि भर्चुअल सुनुवाइ, अनलाइन बकपत्र, तारिख, म्यासेजबाट मुद्दाको बारेमा जानकारी दिने गरिएको छ। पुराना मुद्दाको फर्स्योटका लागि अभियान समिति गठन गरिएको तथा त्यसले अंग पुर्याउने, आदेश कार्यान्वयन गर्ने गराउनेजस्ता कार्य गरेबाट मुद्दा फर्स्योट शीघ्र भएको अदालतको भनाइ छ।
उच्च अदालतमा उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतहरूको पुनरावेदन लाग्छ। यसैगरी, सिन्धुपाल्चोक, दोलखा, रसुवा, रामेछाप, नुवाकोट, धादिङ र सिन्धुली जिल्ला अदालत पनि यसकै क्षेत्राधिकार पर्छ।