रौतहटमा मापसे गरेका ट्रकचालकले दुई बसलाई ठक्कर दिँदा ८ जना घाइते

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन (मापसे) गरेका ट्रकचालकले दुई यात्रुवाहक बसलाई ठक्कर दिँदा आठजना घाइते भएका छन्। जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म.प्र.०२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्र.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमा पल्टिएको थियो।

दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका–९, धनुषाका करिब ६० वर्षीय लालबहादुर तामाङ, बसचालक मकवानपुर हेटौँडा उपमहानगरपालिकाका करिब ४३ वर्षीय विकास पौडेल, सुनसरीका करिब ४५ वर्षीय प्रदीप खड्का, इनरुवा नगरपालिका–२ की करिब ५७ वर्षीया निर्मलादेवी गुप्ता, मोरङ सुन्दरहरैँचा नगरपालिका–५, हरैताकी करिब ४६ वर्षीया रितु वर्ण कार्की, सोही स्थानका करिब ४४ वर्षीय मेघराज कार्की, सुनसरी इटहरी उपमहानगरपालिकाका करिब ३२ वर्षीय सफल मगर तथा मोरङ सुन्दरहरैँचा–५, हरैताकी करिब ५४ वर्षीया दिलमाया कार्की घाइते भएका छन्।

घाइतेमध्ये अधिकांशको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सफल मगरको प्रारम्भिक उपचार चपुरस्थित सिमन्त हाइवे अस्पतालमा भइरहेको क्रममा उनी उपचार अधुरै छाडेर आफैँ अस्पतालबाट हिँडेको जनाइएको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रकचालक महोत्तरीको बर्दिबास नगरपालिकाका करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सुझावित समाचार