खेलकुदलाई धेरैजसोले शारीरिक क्षमता, अभ्यास र सिपसँग मात्र जोडेर हेर्छन् । तर, खेलाडीको प्रदर्शन निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक हो, उसको मानसिक अवस्था । खेल जित्ने वा हार्ने, चोटपटकपछि पुनः मैदानमा फर्किने, दबाबमा निर्णय लिन सक्ने क्षमता तथा आत्मविश्वास कायम राख्ने सबै कुरा खेलाडीको मनोविज्ञानसँग प्रत्यक्ष जोडिएका हुन्छन् । यही विषयलाई अध्ययन र अभ्यास गर्ने क्षेत्रलाई स्पोर्टस् साइकोलोजी (खेल मनोविज्ञान) भनिन्छ । स्पोर्टस् साइकोलोजी भनेको खेलाडीको सोच, भावना, आत्मविश्वास, डर, सफलता, असफलता र चोटपटकले उसको मानसिकतामा पार्ने प्रभावको अध्ययन तथा व्यवस्थापन गर्ने विज्ञान हो । यसको उद्देश्य खेलाडीलाई मानसिक रूपमा बलियो बनाउँदै उत्कृष्ट प्रदर्शन गर्न सक्षम बनाउनु हो ।
जितको आधार ‘विनिङ मेन्टालिटी’
सफल खेलाडी र सामान्य खेलाडीबिचको सबैभन्दा ठुलो भिन्नता उनीहरूको मानसिकता हो । उत्कृष्ट खेलाडीमा आफू जित्न सक्छु, चुनौती सामना गर्न सक्छु र कुनै पनि प्रतिस्पर्धीसँग भिड्न सक्छु भन्ने दृढ विश्वास हुन्छ । यही आत्मविश्वासलाई खेलकुदमा ‘विनिङ मेन्टालिटी’ भनिन्छ । धेरै मानिसले विश्वस्तरीय खेलाडीको आत्मविश्वासलाई कहिलेकाहीँ अहंकारका रूपमा बुझ्ने गर्छन् । तर, त्यो अहंकार होइन, आफ्नो क्षमतामाथिको अटल विश्वास हो । विश्वका चर्चित फुटबलर, खेलाडी वा अन्य सफल खेलाडी सबैमा यही मानसिक शक्ति हुन्छ । उनीहरू आफू सफल हुन सक्छु भन्ने विश्वासका कारण दबाबबिच पनि उत्कृष्ट प्रदर्शन गर्न सक्षम हुन्छन् ।
खेलाडीको सिप जति आवश्यक हुन्छ, त्यति नै आवश्यक हुन्छ आफूले खेल जित्न सक्छु भन्ने मानसिक तयारी । मानसिक रूपमा कमजोर खेलाडीले आफ्नो वास्तविक क्षमता मैदानमा देखाउन सक्दैन ।
खेलाडीलाई समाज–राज्यको साथ
खेलाडीको मानसिक अवस्था उसको व्यक्तिगत सोचले मात्र निर्धारण गर्दैन । उसलाई परिवार, समाज, समर्थक र राज्यबाट प्राप्त हुने सहयोगले पनि ठुलो प्रभाव पार्छ । समर्थकको उत्साह, परिवारको साथ र आर्थिक सुरक्षा खेलाडीको आत्मविश्वास बढाउने महत्वपूर्ण आधार हुन् । यदि कुनै खेलाडीले पर्याप्त सहयोग नपाए, आर्थिक अभाव झेल्नु परे वा आफ्नो मिहिनेतको उचित मूल्यांकन नभए उसको मनोबल घट्न थाल्छ ।
नेपालमा धेरै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर फर्किए पनि अपेक्षित सम्मान र अवसर पाउँदैनन् । यस्ता अवस्थाले खेलाडीमा निराशा, हतासा र मानसिक तनाव बढाउँछ । निरन्तर बेवास्ताले कतिपय प्रतिभाशाली खेलाडी खेल नै छाड्न बाध्य हुने अवस्था पनि सिर्जना हुन सक्छ । खेलाडीलाई सरकारले मात्र होइन, समाज र समर्थकले पनि सम्मान गर्नुपर्छ । खेलाडीले आफूलाई राष्ट्रले मूल्य दिएको महसुस गरेमा उसको मानसिक बल झन् मजबुत हुन्छ ।
चोटपटक दिमागमा पनि
स्पोर्टस् साइकोलोजीको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक हो, चोटपटकपछि खेलाडीको मानसिक पुनर्स्थापना । अधिकांशले चोट शरीरको समस्या मात्र ठान्छन् । तर, वास्तविकता फरक हुन्छ । कुनै खेलाडीको घुँडाको एसिएल चोट लागेपछि समस्या घुँडामा मात्र सीमित हुँदैन । त्यसले उसको दिमागमा पनि गहिरो असर पार्छ ।
खेलाडीको मनमा अनेक प्रश्न आउन थाल्छ, ‘के म फेरि पहिलेजस्तै खेल्न सक्छु ?’ ‘मेरो करियर सकिने त होइन ?’ ‘मलाई क्लबले फेरि अवसर दिन्छ कि दिँदैन ?’ यस्ता डरले कतिपय खेलाडी शारीरिक रूपमा निको भइसकेपछि पनि मैदानमा फर्किन सक्दैनन् ।
विशेषगरी लामो समय मैदानबाहिर बस्नुपर्ने चोटले खेलाडीको आत्मविश्वास कमजोर बनाउँछ । एक वर्ष खेल्न नपाउँदा उसको लय बिग्रन्छ, टोलीमा स्थान गुम्ने चिन्ता हुन्छ र भविष्यप्रति असुरक्षा बढ्छ । यही मानसिक दबाबले पुनरागमन अझ कठिन बनाइदिन्छ ।
थेरापीको भूमिका
चोट निको भएपछि पनि धेरै खेलाडीमा फेरि त्यही चोट लाग्ने डर रहन्छ । यसलाई सामान्य मनोवैज्ञानिक प्रतिक्रिया मान्नुपर्छ । जस्तै, मोटरसाइकल दुर्घटनामा परेको व्यक्तिलाई पुनः मोटरसाइकल चलाउन डर लाग्न सक्छ, त्यसैगरी गम्भीर चोट बेव्यहोरेका खेलाडीलाई मैदानमा उत्रँदा डर लाग्नु स्वाभाविक हो । यही डर हटाउन स्पोर्टस् साइकोलोजीले महत्वपूर्ण भूमिका खेल्छ । खेलाडीलाई चोट किन लाग्यो, कसरी निको हुँदै छ र पुनः सुरक्षित रूपमा कसरी खेल्न सकिन्छ भन्ने जानकारी दिइन्छ । जब खेलाडीले आफ्नो अवस्थालाई बुझ्न थाल्छ, उसको डर पनि क्रमशः घट्दै जान्छ ।
खेलाडीलाई पुनः मैदानमा फर्काउन केवल उपचार पर्याप्त हुँदैन । त्यससँगै मानसिक परामर्श पनि उत्तिकै आवश्यक हुन्छ । खेलाडीको चोट लागेको भागलाई लक्षित गरेर विशेष अभ्यास गराइन्छ । मांसपेशी बलियो बनाइन्छ, शरीरको सन्तुलन सुधारिन्छ र खेलका आवश्यक गतिविधि पुनः अभ्यास गराइन्छ ।
त्यससँगै खेलाडीलाई चोट कसरी लाग्यो, भविष्यमा कसरी बच्न सकिन्छ र उपचारको प्रक्रिया कति सुरक्षित छ भन्ने विषयमा पनि विस्तारमा बुझाइन्छ । कारणबारे स्पष्ट जानकारी पाएपछि खेलाडीको अनावश्यक डर कम हुँदै जान्छ ।
व्यायामले मानसिक स्वास्थ्य पनि सुधार्छ । नियमित व्यायामले शरीर मात्र होइन, दिमागलाई पनि सकारात्मक बनाउँछ । कुनै खेलाडीले पहिलेभन्दा धेरै तौल उठाउन सक्यो, पहिलेभन्दा राम्रो प्रदर्शन गर्न सक्यो वा आफ्नो प्रगति स्पष्ट देख्न सक्यो भने त्यसले उसको आत्मविश्वास बढाउँछ । आफू अघि बढिरहेको अनुभूतिले मानसिक शक्ति पनि वृद्धि हुन्छ ।
व्यायामका क्रममा शरीरमा डोपामिन, एन्डोर्फिनलगायत ‘फिल गुड’ हर्मोन सक्रिय हुन्छन् । यी हर्मोनले खुसीको अनुभूति दिलाउने, तनाव कम गर्ने र आत्मविश्वास बढाउने काम गर्छन् । त्यसैले पुनर्स्थापनाको प्रक्रियामा नियमित शारीरिक अभ्यास मानसिक उपचारको पनि महत्वपूर्ण हिस्सा हो ।
मानसिक स्वास्थ्यको महत्व खेलाडीमा मात्र सीमित छैन । प्रत्येक व्यक्तिका लागि मानसिक सन्तुलन उत्तिकै आवश्यक छ । पत्रकार, शिक्षक, व्यवसायी, विद्यार्थी वा कुनै पनि पेसाका मानिस दैनिक रूपमा विभिन्न प्रकारका दबाबमा हुन्छन् । ती दबाब समयमै व्यवस्थापन गर्न नसके मानसिक समस्या बढ्न सक्छ ।
धेरै मानसिक समस्या बाहिरबाट देखिँदैनन् । मानिस सामान्य देखिए पनि भित्रभित्रै आर्थिक, पारिवारिक वा सामाजिक तनावसँग संघर्ष गरिरहेको हुन सक्छ । त्यसैले, मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्व दिन आवश्यक छ ।
स्पोर्टस् साइकोलोजी खेलाडीको प्रदर्शन सुधार्ने विषय मात्र होइन, उसको सम्पूर्ण जीवनसँग जोडिएको विज्ञान हो । जित र हार, चोट र पुनरागमन, आत्मविश्वास र निराशा, यी सबै पक्षलाई मानसिक रूपमा सन्तुलित बनाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । खेलाडी मात्र होइन, प्रत्येक व्यक्तिले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने हो भने स्वस्थ, आत्मविश्वासी र सकारात्मक समाज निर्माण गर्न सकिन्छ ।
अधिकारी स्पोर्टस् पर्फमेन्स कोच हुन्
प्रस्तुति : पवन बराइली