नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

नागरिक अगुवा एवं पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधन भएको छ । प्यांक्रियाजको क्यान्सरबाट पीडित उनको शुक्रबार साँझ पौने ८ बजे विशालनगरस्थित निवासमा निधन भएको हो ।

‘उहाँको घरमै निधन भएको हो । ५–६ महिनादेखि दुखाइको मात्र उपचार भइरहेको थियो । भोलि ११ बजेसम्म श्रद्धाञ्जली दिनका लागि शव घरमै राखिनेछ । त्यसपछि पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्ने कुरो छ,’ पाण्डेनजिक रहेर काम गरेका चिकित्सक अनुप सुवेदीले भने ।

सुवेदीका अनुसार ०६२/६३ को दोस्रो जनआन्दोलनमा पाण्डेको महत्वपूर्ण योगदान छ । ‘अशान्ति, गृहयुद्ध, राजाको निरंकुश शासनको वेला सबै पार्टीलाई एकताबद्ध बनाउने, माओवादीलाई शान्ति प्रक्रियामा अवतरण गराएर मूलधारको राजनीतिमा ल्याउने कुरामा एक हिसाबले नागरिक पंक्तिबाट पहल गर्ने एक/दुई जनामा उहाँ हुनुहुन्थ्यो । त्यहीकारणले शान्तिले स्थायित्व पायो,’ उनले भने ।

विकास अर्थशास्त्री पनि हुन् । सुवेदीकाअनुसार विकास कस्तो हुनुपर्छ, न्याय  समुन्नित हुने खालको विकास कसरी लागु गर्ने भनेर पाण्डेले भिजन दिएका छन् । ०४६ को राजनीतिक परिवर्तनपछि बनेको अन्तरिम सरकारमा पाण्डे अर्थमन्त्रीसमेत भएका थिए ।

साथै, प्रशासनिक कर्मचारीले नैतिकता कसरी राख्ने, शासकहरूसँग सम्वाद कसरी गर्ने कुराहरू पनि पाण्डेले उदाहरणका रुपमा दिएका छन् । ‘उहाँको जीवनबाट धेरै कुरा सिक्न सक्छौं,’ सुवेदीले भने । 
 

सुझावित समाचार