गोल्डेन बुट दौडमा मेसी अग्रस्थानमा

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण
  • मेसी र एम्बाप्पेले चालू विश्वकपमा समान आठ गोल गरेका छन् । मेसीले असिस्टमा एम्बाप्पेलाई पछि पारेका हुन् ।

अर्जेन्टिनी कप्तान लियोनल मेसी फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ को एडिडास गोल्डेन बुटको दौडमा अग्रस्थानमा आएका छन् । फिफाले सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको अवार्डबाट सम्मानित गर्दै आएको छ । एटलान्टामा बिहीबार बिहान इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएपछि मेसी फ्रान्सका कप्तान केलियन एम्बाप्पेलाई गोल्डेन बुट दौडमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन् । 

मेसीले इंग्ल्यान्डविरुद्ध दुई असिस्ट गरेका थिए । मेसी र एम्बाप्पेले चालू विश्वकपमा समान आठ गोल गरेका छन् । मेसीले असिस्टमा एम्बाप्पेलाई पछि पारेका हुन् । मेसीले कुल चार असिस्ट गर्दा एम्बाप्पेको तीन असिस्ट गरेका छन् । गोल्डेन बुटको टुंगो फाइनलपछि नै लाग्नेछ । मेसीले फाइनलमा स्पेनको सामना गर्दै छन् । तेस्रो स्थानका लागि फ्रान्सले इंग्ल्यान्डसँग खेल्नेछ । सेमिफाइनलमा पराजित दुई टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । इंग्ल्यान्डविरुद्ध एम्बाप्पेले गोल वा असिस्ट दुवै गर्न नसके मेसीले स्वतः गोल्डेन बुट जित्नेछन् । 

एम्बाप्पेले गोल वा असिस्टको संख्या बढाउँदा मेसीमाथि दबाब बढ्नेछ । सात गोल गरेका नर्वेका एर्लिङ हाल्यान्ड गोल्डेन बुटको दौडबाट बाहिरिएका छन् । नर्वे इंग्ल्यान्डसँग क्वार्टरफाइनलमा पराजित भएको थियो । इंग्ल्यान्डका जुड वेलिंघम र कप्तान ह्यारी केनलाई पनि गोल्डेन बुट जित्ने अवसर छ । दुवै खेलाडीले समान ६ गोल र एक असिस्ट गरेका छन् ।

फ्रान्सविरुद्धको खेलमा दुई खेलाडीले दुई गोल गर्दा मेसी र एम्बाप्पेलाई भेट्टाउनेछन् । केन वा वेलिंघमले तीन गोल गरे शीर्ष स्थान पुग्नेछन् । पाँच गोल गरेका फ्रान्सका औसमाने डेम्बेले र स्पेनका मिकल ओयरजाबाल गोल्डेन बुट जित्ने अवसर छ । फिफाको नियमअनुसार एकभन्दा बढी खेलाडीबिच समान गोल र असिस्ट भएको अवस्थामा खेलेको मिनेटअनुसार अवार्ड प्रदान गरिनेछ । 

सुझावित समाचार