सेयर बजारका लगानीकर्तालाई अफवाह र भ्रामक प्रचारको पछि नलाग्न अर्थमन्त्री डा. वाग्लेकाे आग्रह

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका लगानीकर्तालाई अफवाह र भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेको छ। नयाँ आर्थिक वर्ष ०८३/८४ को अवसरमा जारी सन्देशमार्फत सचिवालयले सरकार गठनयता सेयर बजारमा देखिएको गिरावटप्रति लगानीकर्ताको चिन्ता स्वाभाविक रहेको उल्लेख गर्दै अर्थतन्त्रका आधारभूत सूचकहरू भने सुधारोन्मुख रहेको जनाएको छ।

सचिवालयका अनुसार अर्थतन्त्रमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको तथा कर नीतिमार्फत खर्च र लगानी प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। साथै, स्थिर सरकार, विज्ञ अर्थमन्त्री तथा नियमनकारी निकायमा पारदर्शी र इमानदार नेतृत्व चयन गरिएकाले सेयर बजार सुधारका लागि योजनाबद्ध रूपमा काम भइरहेको दाबी गरिएको छ।

सन्देशमा विगतमा बजारमा विकृति ल्याउने समूहहरूमाथि अनुसन्धान भइरहेको उल्लेख गर्दै अहिले पनि केही पक्षले बजारबारे गलत भाष्य निर्माण गरी असामान्य अवस्था सिर्जना गर्न खोजिरहेको आरोप लगाइएको छ। नाम जोडेर पक्राउ वा अनुसन्धानको हल्ला फैलाउने प्रयास भइरहेको भन्दै त्यस्ता अफवाहबाट सचेत रहन लगानीकर्तालाई आग्रह गरिएको छ।

सचिवालयले सेयर बजारसम्बन्धी आधिकारिक जानकारी क्लबहाउस, ह्वाट्सएप वा म्यासेन्जर समूह तथा अनौपचारिक स्रोतबाट नभई सम्बन्धित सरकारी निकायबाट लिनुपर्नेमा जोड दिएको छ। लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, अफवाहको पछि नलाग्न र आधिकारिक निकायसँग जानकारी लिएर मात्र निर्णय गर्न पनि आग्रह गरिएको छ।

अर्थमन्त्रीको सचिवालयले सरकार कम बोल्ने, तर धेरै काम गर्ने नीतिअनुसार अघि बढिरहेको उल्लेख गर्दै नयाँ आर्थिक वर्ष ०८३/८४ का लागि सबै लगानीकर्तालाई शुभकामनासमेत दिएको छ।

सुझावित समाचार