धनकुटा नगरपालिका–६, गोठगाउँका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ४४ वर्षीय भतर भनिने प्रेम न्यौपाने बिहीबार दिउँसो करिब २ बजे मृत अवस्थामा फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार धनकुटा नगरपालिका–६ स्थित गोठगाउँनजिकको खोल्सीमा न्यौपानेको शव फेला परेको हो।
प्रहरीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जनाएको छ।
प्रहरीका अनुसार न्यौपाने दुईदेखि तीन दिनअघि घरबाट बेपत्ता भएका थिए। आफन्तले खोजी गर्ने क्रममा बिहीबार दिउँसो घरनजिकैको खोल्सीमा उनको शव फेला पारेका हुन्।
घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी भण्डारी क्षेत्रीले जानकारी दिए।