स्याङ्जामा गोठमाथिबाट पहिरो खस्दा एकजनाको मृत्यु

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

गोठमाथिबाट आएको पहिरोमा परी स्याङ्जामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गल्याङ नगरपालिका–६ बनपाले बस्ने ६५ वर्षका धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।

बिहीबार विहान ५ बजेको समयमा थापा ढुंगामाटोले बनेको खरले छाएको एकतले कच्ची गोठमा काम गरिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले उनलाई गोठसहित पुरेको थियो।

प्रहरी चौकी पिडीखोलाबाट प्रहरी सहायक निरीक्षक पदमबहादुर थापाको कमाण्डमा प्रहरी टोली खटिएको थियो। बिहान ६ः४५ बजे घटनास्थल पुगेको प्रहरी, स्थानीय र आफन्तले पहिरो हटाउँदा थापा मृत अवस्थामा भेटिएका अवस्थीले जानकारी दिए।

पहिरोमा परी गोठभित्र रहेको एक भैंसीको समेत मृत्यु भएको र एक बंगुर घाइते भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार