नेपाल राष्ट्र बैंकले अशक्त, असहाय तथा आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिक र १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था गरेको छ।
केन्द्रीय बैंकले संशोधित निर्देशन जारी गर्दै उक्त समूहका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरविना पनि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने स्पष्ट पारेको हो। अन्य नेपाली नागरिकका हकमा भने नागरिकतासँगै राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य रहने व्यवस्था यथावत् राखिएको छ।
नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले विद्युतीय अभिलेखमार्फत राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर यकिन गरेर खाता खोल्ने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो।
त्यसैगरी, ०८३ असोज मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालाको राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक भएको वा नभएको घोषणा गर्ने व्यवस्था गर्नुपर्नेछ।
राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको विवरण पनि सोही अवधिभित्र मोबाइल एप वा अन्य माध्यमबाट अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। परिचयपत्र नलिएका ग्राहकका हकमा भने राष्ट्रिय परिचयपत्र लिएर ग्राहक पहिचान (केवाइसी) अद्यावधिक गर्न प्रत्येक ६ महिनामा मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट जानकारी गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ।