सुदूरपश्चिममा नयाँ समीकरणको कसरत, नेतृत्वमा नेकपाको दाबी

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

कांग्रेस–एमाले गठबन्धन भत्किएपछि सुदूरपश्चिममा नयाँ गठबन्धन निर्माणका लागि नेताहरूबिच छलफल सुरु भएको छ । प्रदेश तहमा नेकपा–एमाले तथा नेकपा–कांग्रेसबिच समीकरणको प्रयास भइरहेको छ । यद्यपि, कुन दलबिच समीकरण हुने विषय केन्द्रकाे निर्णयमा भर पर्ने नेताहरूले बताएका छन् ।

कांग्रेसले यहाँ नेकपासँग सत्ता सहकार्यको प्रस्ताव गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर रावलले प्रदेशमा नेकपासँग सहकार्य गरेर जाने विषयमा छलफल भइरहेको बताए । ‘हामी छलफलमै छौँ, तर कोसँग गठबन्धन गर्ने निर्णय केन्द्रबाटै हुने हो,’ उनले भने ।

संसद्को सबैभन्दा ठुलो दल भएकाले नेकपाले सरकारको नेतृत्वमा दाबी गर्ने जनाएको छ । नेकपा संसदीय दलका नेता खगराज भट्टले कांग्रेसले बजेट पास गर्न सहयोग मागेको बताए । नयाँ समीकरण निर्माणका लागि अब सुरु हुने उनले बताए । ‘समीकरण निर्माणबारे अब छलफल सुरु होला । कसको नेतृत्वमा सरकार बन्ने सन्दर्भको छलफलमा सबैभन्दा ठुलो दल हुनुका नाताले स्वाभाविक रूपमा सरकारको नेतृत्वमा हाम्रो दाबी रहन्छ,’ उनले भने ।

५३ सदस्यीय प्रदेश सभामा हाल ५१ सदस्य कायम रहेकामा बहुमतका लागि २७ सदस्य आवश्यक पर्छ । प्रदेश सभामा नेकपाका एक निलम्बितबाहेक २१, कांग्रेसका १८, एमालेका ११ र राप्रपाका एक सांसद छन् ।

See More On

सुझावित समाचार