सिंहदरबारमै खानेबस्ने मन्त्रीको व्यस्तता

मन्त्रालयको खाका बनाइरहेका नवप्रवर्तनमन्त्री पुन दैनिक करिब ३० जनासँग गर्छन् छलफल

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण
  • भन्छन्– शून्यबाट सुरु भएकाले निष्कर्षमा पुग्न समय लाग्छ, थोपाथोपा आविष्कार जोडेर देशलाई नवप्रवर्तनमय बनाउने हाम्रो लक्ष्य हो

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनका प्रमुख अभियन्ता रहेका मन्त्री महावीर पुन अहिले आफूले नेतृत्व गरिरहेको मन्त्रालयको संरचना बनाउनमै व्यस्त छन् । मन्त्रालयको भवनमै बसोबास र भोजनको व्यवस्था मिलाएर उनी बिहानदेखि रातिसम्म मन्त्रालयको कार्यक्षेत्र, संरचना र दीर्घकालीन योजनाबारे छलफल तथा अध्ययनमा केन्द्रित छन् ।

तर, मन्त्रालय स्थापना भएको डेढ महिना पुग्दा पनि यसको स्पष्ट कार्यढाँचा, संगठन संरचना र क्षेत्राधिकार भने टुंगिन सकेको छैन । नयाँ प्रकृतिको मन्त्रालय भएकाले के–के विषय समेट्ने, कति शाखा, महाशाखा र विभाग रहने तथा संघ, प्रदेश र स्थानीय तहसम्म यसको संरचना कसरी विस्तार गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको छ ।

मन्त्री पुनका अनुसार उनी दैनिक करिब ३० जनासम्मसँग छलफल गरिरहेका छन् । साथै, विभिन्न मुलुकमा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी मन्त्रालयले कसरी काम गरिरहेका छन् भन्ने अध्ययन पनि भइरहेको छ । ‘दिनदिनै छलफल र अध्ययन गरिरहेकै छु, तर निष्कर्षमा पुगेको छैन । यो नयाँ किसिमको मन्त्रालय हो । सबैले बुझ्दा पनि पूर्ण रूपमा बुझ्दैनन् । मेरो सोच भनेको नवप्रवर्तनलाई आर्थिक आम्दानीको आधारस्तम्भ बनाउनु र रोजगारी सिर्जना गर्नु हो,’ पुनले भने ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनका लागि पुनले लामो समयदेखि आवाज उठाउँदै आएका थिए । गत फागुनको चुनावबाट रास्वपाले एकल बहुमत ल्याएपछि वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बने । उनले नवप्रवर्तन मन्त्रालय मात्र गठन गरेनन्, स्वतन्त्र सांसद रहेका पूर्वमन्त्री पुनलाई नै जिम्मेवारी दिए । गत २६ जेठमा मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दै मन्त्रालयको बलियो जग निर्माणलाई पहिलो प्राथमिकता बनाउने बताएका थिए । उनले भनेका थिए, ‘विज्ञान–प्रविधिको विकास ढिलो गतिमा सम्भव छैन । दिनरात खटेर काम गर्नुपर्छ । सरकारको कार्यकाल पाँच वर्ष भए पनि म तीन वर्षभन्दा बढी पदमा बस्ने सोचमा छैन । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । अहिलेको प्राथमिकता भनेको मन्त्रालयको जग बलियो बनाउनु हो ।’

अविष्कारलाई केन्द्रमा राखिने
मन्त्री पुनका अनुसार मन्त्रालयको मुख्य जिम्मेवारी अविष्कार र नवप्रवर्तन हुनेछ । त्यसलाई कृषि, उद्योग, प्रविधि तथा अन्य क्षेत्रसँग कसरी जोड्ने भन्ने मोडालिटी तयार पार्ने काम भइरहेको छ ।

उनले मन्त्रालयलाई परम्परागत सरकारी निकायभन्दा फरक ढंगले सञ्चालन गर्ने लक्ष्य लिएका छन् । ‘देशमा आर्थिक आम्दानीका नयाँ स्रोत थप्ने, युवाको प्रतिभा र सिर्जनशीलतालाई देशमै प्रयोग गर्ने वातावरण बनाउने हाम्रो उद्देश्य हो । नयाँ कुरा आविष्कार गर्ने क्षमता भएका युवालाई बिदेसिन नदिई देशभित्रै अवसर सिर्जना गर्छौँ,’ उनले सुनाए ।

कानुनी र प्रशासनिक संरचना अझै बन्न बाँकी : कर्मचारी २४ मात्र, आवश्यक ९० जनासम्म 
हाल मन्त्रालय साबिकको युवा तथा खेलकुद मन्त्रालयको भवनबाट सञ्चालन भइरहेको छ । मन्त्रालयको स्थायी संगठन संरचना, नियमावली तथा संगठन तथा व्यवस्थापन सर्वेक्षण अझै सम्पन्न भएको छैन । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि मन्त्रालयलाई चार अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । 

हाल मन्त्रालयमा २४ जना कर्मचारी कार्यरत छन । तर, मन्त्रालयको कार्यक्षेत्र विस्तार हुँदै जाँदा कर्मचारी संख्या ८० देखि ९० जनासम्म पुर्याउनुपर्ने आवश्यकता देखिएको मन्त्री पुन बताउँछन् । उनका अनुसार संघ, प्रदेश र स्थानीय तहसम्म मन्त्रालयको उपस्थिति विस्तार गर्ने गरी संगठन निर्माणको गृहकार्य भइरहेको छ ।

विश्वविद्यालयसँग सहकार्य हुने 
मन्त्रालयले तयार पारेको प्रारम्भिक अवधारणाअनुसार शैक्षिक तथा अनुसन्धानसम्बन्धी काम विश्वविद्यालय अनुदान आयोग (युजिसी) मार्फत अघि बढाइनेछ । देशभरका विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना गरी विद्यार्थीका अनुसन्धान र आविष्कारलाई मन्त्रालयसँग जोड्ने योजना छ । साथै, विश्वविद्यालयबाहिरका आविष्कारकर्ता र स्थानीय तहका सिर्जनशील व्यक्तिका लागि पनि इनोभेसन सेन्टर स्थापना गर्ने तयारी गरिएको  छ । ‘सानो कृषि औजार बनाउनेदेखि ठुलो प्रविधि विकास गर्ने सबै प्रकारका आविष्कारलाई सम्मान र प्रोत्साहन गर्छौँ । थोपाथोपा आविष्कार जोडेर देशलाई नवप्रवर्तनमय बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने । 
 

सुझावित समाचार