बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा युएनडिपीसँग सहकार्य चाहेका छौँ : अर्थमन्त्री वाग्ले

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा सरकारले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सँग विकास सहकार्य चाहेको बताएका छन्।

नेपाल र युएनडिपीबिच सहकार्य सुरु भएको ६०औँ वर्षगाँठको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो धारणा राखेका हुन्।

उनले नेपालसँग ६० वर्षदेखि विकासका विभिन्न क्षेत्रमा सहकार्य गरेकोमा युएनडिपीलाई धन्यवाद दिए। ‘गरिबी निवारण, असमानता न्यूनीकरण र दिगो विकास क्षेत्रदेखि शिक्षा, स्वास्थ्यलगायतका कार्यमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको योगदान अविस्मरणीय छ। यहाँहरूलाई धेरै-धेरै धन्यवाद’ अर्थमन्त्री वाग्लेले भने, ‘आज ६० वर्ष पुगेको सहकार्य १०० वर्षसम्म रहोस् भन्ने कामना गर्दछु।’

संयुक्त राष्ट्रसंघको छाताभित्र रहेर विकासका दीर्घकालीन सहकार्य गर्नु कति रकम लगानी भयो भन्नेमा मात्रै सीमित नरहेको भन्दै अर्थमन्त्री वाग्लेले एउटा विशाल अन्तरदेशीय सहकार्य र समन्वयको रूपमा यसलाई बुझ्न सकिने बताए।

नेपालको पर्यावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवालाई प्रोत्साहन र डिजिटल क्षेत्रमा पुर्याएको योगदानका लागि उनले युएनडिपीलाई धन्यवाद दिए। आफूले यस संस्थामा जीवनको महत्त्वपूर्ण समय बिताएको पनि उनले स्मरण गरे। 

सो अवसरमा अर्थमन्त्री वाग्लेले युएनडिपीले नेपालमा गरेका कामहरू समेटिएको फोटो किताब ‘६० वर्षको सहयात्रा’ सार्वजनिक गरे।

सुझावित समाचार