नेकपा एमालेले विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति आपत्ति जनाउँदै विनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। जनसरोकारका मुद्दा उठाएर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका नेताहरुमाथि सरकारले बर्बर दमन गरेको एमालेको आरोप छ।
प्रदर्शनका क्रममा सिंहदरबार गेटअगाडिबाट अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो।
‘मुलुकमा व्याप्त आकाशिंदो मूल्यवृद्धि, सुकुमवासी नागरिकहरूमाथिको अत्याचार र शृङ्खलाबद्ध राज्य आतङ्क विरुद्ध जनसरोकारका मुद्दा उठाई सिंहदरबार गेटअगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूमाथि सरकारले गरेको बर्बर दमन र गिरफ्तारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
सरकार आफैँले भिजिलान्ते शैलीमा सञ्चार गृह, राजनीतिक नेता र व्यवसायीका निवास र कार्यालयहरूमा गाडी पार्किङ गराई राज्य संरक्षित अवरोध सिर्जना गरेको विरोधमा उत्रिएका विद्यार्थी पक्राउ परेका एमालेले जनाएको छ।
‘नागरिकको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई कुण्ठित गर्दै सरकारले देखाएको यो कायरतापूर्ण रवैया लोकतन्त्र र मानव अधिकारको ठाडो उल्लङ्घन हो। हाम्रो पार्टी सरकारको यस अधिनायकवादी कदमको कडा शब्दमा निन्दा र घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।